श्रीकृष्ण सिग्देल-वालिङ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको एक सहकारीले आफ्ना शेयर सदस्यलाई वित्तिय साक्षरता र सहकारी शिक्षा प्रदान गरिरहेको छ । गाउँपालिकाकै अब्बल र ठुलो ग्रामिण स्वावलम्बन साना किसान कृषि सहकारीले अन्तर समुहलाई सहकारी शिक्षा प्रदान गरेको हो । पछिल्लो समय सहकारीहरु समस्यामा परेका बेला आफ्ना शेयर सदस्यहरुलाई आफ्नो सहकारीको अवस्था सगै वित्तिय साक्षरता र सहकारी शिक्षा कार्यक्रम अगाडी सारेको सहकारीका प्रवन्धक शालिकग्राम काफ्लेले जानकारी दिए ।
सहकारीको आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम अनुसार अन्तर समुहलाई पशु बिमा, समाजिक सामुदायीक कार्यक्रम र सहकारीका समस्याका बारेमा प्रशिक्षण दिइरहेको प्रवन्धक काफ्लेले बताए । उनका अनुसार पहिलो आग्रीखर्क, दोस्रो रापाकोट र तेस्रो चरणको केवरेमा सम्पन्न भइसकेको बताए ।
यो कार्यक्रम गाउँपालिकाका सबै वडाहरुमा सम्पन्न गर्ने काफ्लेले बताए । आफ्ना शेयर सदस्यलाई आयआर्जनको बाटोमा लैजान र सहकारीलाई बलियो बनाउन यो कार्यक्रम सफल हुने विश्वास लिइएको काफ्लेको भनाई छ । झण्डै ३२ सय शेयर सदस्य रहेको सहकारीमा शेयर पुँजी १ करोड ८० लाख रहेको छ । सहकारीमा १३ करोड बचत तथा जगेडा कोषमा ५ करोड रहेको प्रवन्धक काफ्लेले बताए । ३२ करोड रकम सहकारीले कृषि, उद्यमी, व्यवसायी, शिक्षा लगायतमा लगानी गरेको जनाएको छ । सहकारीले प्रदान गरेको सहकारी शिक्षामा शेयर सदस्यको सहभागिता अत्यन्तै उत्साहजनक रहेको सहकारीका अध्यक्ष बोधराज रेग्मीले बताए । सहकारीप्रति शेयर सदस्यको विश्वास बढ्दो रहेकाले नै सहकारीमा खराब कर्जा नरहेको दावी अध्यक्ष रेग्मीको छ ।यो सहकारीले अर्जुनचौपारी गाउँपालिकाका शेयर सदस्य तथा गैह्र शेयर सदस्यलाई आवश्यकता अनुसारको कृषि उपज, कृषि सामाग्री र पशुपंक्षीका लागि सामाग्रीहरु अनुदानमा वितरण गर्दै आएको बताइएको छ । पशु विमा मार्फत आफ्ना शेयर सदस्यको पशुहरुको सुरक्षण कार्यक्रम समेत प्रभावकारी र आकर्षण रहेको सहकारीले जनाएको छ । सहकारीले दिने सेवा सुविधाकै कारण सहकारी प्रति शेयर सदस्यको विश्वास जितेको अध्यक्ष रेग्मीले बताए ।