मेलाको स्वरुप परिवर्तनको माग गर्दै नगर प्रमुखलाई ज्ञापन पत्र 

प्रकाशित मिति:

प्रकाश न्यौपाने

फाल्गुन २२ गते

नवलपरासी । पश्चिम नवलपरासी  बर्दघाटमा बर्दघाट उद्योग वाणिज्य संघले लगाउने तयारी गरेको सातौँ कृषि पर्यटन, उद्योग व्यापार मेलाको स्वरुप परिवर्तनको माग राख्दै व्यवसायीहरुले बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ समक्ष ज्ञापन पत्र पेश गरेका छन् । आज मंगलार नगर प्रमुखको कार्यकक्षमा पुगेका व्यवसायीहरुले १५ बुँदे माग राख्दै ज्ञापन पत्र पेश गरेका हुन् ।

मेलाको विषयमा सामुहिक भेलाबाट निर्णय हुनुपर्ने, मेलाको ठेक्का प्रक्रिया सार्वजनिक खरिद ऐन अनुसार हुनपर्ने, स्थानिय व्यवसायीहरुलाई प्राथमिकता दिनुपर्ने, टिकट शुल्क बढीमा ४० रुपैयाँ हुनुपर्ने, मेला अवधि भर एउटै टिकट कायम हुनुपर्ने, पार्किङ निशुल्क हुनु पर्ने माग राखिएको संघका निवर्तमान उपाध्यक्ष राजु न्यौपानेले बताउनु भयो ।


 “कृषक, लघु उद्योगी,विद्यार्थीहरुलाइ परामर्श स्टल हुनुपर्ने, मेला सकिएको पाँच दिन भित्र हिसाब किताब सार्वजनिक गर्नुपर्ने, सुर्तिजन्य पदार्थको विक्रि वितरणमा रोक लगाउनुका साथै जुवासँग सम्बन्धित कुनै पनि खेल खेलाउन पुर्ण रुपमा बन्देज लगाउनका लागी नगर प्रमुखसङ्ग माग गरेका छौं ।” संघका निवर्तमान बरिष्ठ उपाध्यक्ष राजु पाण्डेले बताउनुभयो ।


संघका निवर्तमान उपाध्यक्ष लेखनाथ पौडेलसहित करिब एक दर्जन ब्यवसायीको ज्ञापनपत्र बुझ्दै नगर प्रमुख श्रेष्ठले उद्योग वाणिज्य संघका पदाधिकारीहरु र ज्ञापन पत्र बुझाउने पक्ष बीच संयुक्त रुपमा छलफल गरीने बताउनु भयो । नगर प्रमुख श्रेष्ठले भन्नुभयो -” दुवै पक्षको बिचमा छलफल गरी मेलाको स्वरुप निर्धारण गरिनेछ र केही फरक ढंगले मेला लगाउन अनुमति दिइन्छ ।”

बर्दघाट संघका अध्यक्ष लेखनाथ न्यौपानेले स्थानिय व्यवसायीहरुलाई प्रवर्द्दन गर्ने हिसावले बर्दघाटमा मेला लगाउने बताउनु भयो । बर्दघाटको पहिचान झल्काउने गरि मेला लगाउने बताउदै अध्यक्ष न्यौपानेले भन्नुहुन्छ -” बर्दघाटका व्यवसायीहरुले अपनत्व महसुस गर्ने खालको स्वरुपमा मेला तयारी गरीरहेका छौँ ।’ न्यौपानेले भन्नुभयो ।