ड्रिम युनिक रूपन्देही सुपरलिगः न्यु होराइजन १६ रनले विजयी

प्रकाशित मिति:

भैरहवा, चैत्र २९ ।भैरहवामा जारी ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा न्यु होराइजन क्रिकेट क्लबले जित निकाल्न सफल भएको छ । बिहीबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा न्यु होराइजनले मेलवर्न क्रिकेट क्लबलाई १६ रनले हराउँदै जित हात पारेको हो ।यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको न्य होराइजनले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय १४ रनको योगफल खडा गर्यो । उसका लागि १ सय ४३ बलको सामना गरेका अमर मिश्राले ६ चौकाको मद्दतमा ८९ रनको अर्धशतकीय पारी खेले । यस्तै, निश्चल ज्ञवालीले २९, महेश भरले २४, बाबुराम क्षेत्रीले २२ र प्रदीप शाहनीले १० रन जोडे । बलिङमा मेलवर्नका रमेश कुर्मी, विष्णु कटरिया, सागर गैरे र इकलाख अहम्मदले २–२ तथा रोशनलाल गुप्ताले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको मेलवर्न ४६ ओभर ५ बलमा १ सय ९८ रन जोड्दा आलआउट भयो र हार व्यहोर्यो । उसका लागि इकलाख अहम्मदले ६०, समीर अलीले ४१, अजय रसाइलीले २३, सागर गैरेले १२ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । बलिङमा न्यु होराइजनका सुमित पराजुलीले ४, अमर मिश्राले ३, प्रिन्स पालले २ तथा विपर्शन केसीले १ विकेट लिए । खेलमा होराइजनका अमर मिश्रा म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ पाए ।रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।