मर्जको अवस्थामा पुगेको सामूदायिक विद्यालयमा अहिले निजी विद्यालयका विद्यार्थी धेरै आउन थालेका छन् ।
भैरहवा, ५ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का रामकुमार गुप्ताले आफ्ना छोराछोरीलाई निजी (संस्थागत) विद्यालयमा पढाउँथे । तर, निजी विद्यालयमा अध्ययन गरिरहेका छोराछोरीलाई उनले अघिल्लो वर्ष सामूदायिक विद्यालयमा भर्ना गरे । उनका तीनजना छोराछोरी अहिले सिद्धार्थनगर नगरपालिका–४ दोगहरास्थित श्री नव दुर्गा माध्यमिक विद्यालयमा अध्ययन गर्छन् । ‘विगतमा मेरो छोराछोरी बोर्डिङ (निजी) स्कूलमा पढ्थे, तर अघिल्लो वर्षदेखि उनीहरुलाई सामूदायिक विद्यालयमा पढाइरहेको छु । यो विद्यालयमा विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाएका छन्, यसै विद्यालयमा पढेकी मेरो ठूलो छोरी पूर्ण छात्रवृत्तिमा फार्मेसी अध्ययन गरिरहेकी छन्, ’गुप्ताले भने ।
शिक्षकको मिहिनेत र विद्यालय व्यवस्थापन समितिको अथक प्रयासकै कारण यो विद्यालयको पढाइ राम्रो रहेको उनको भनाइ छ । सामुदायिक विद्यालय अब्बल छन् भन्ने कुरा नव दुर्गा माविले प्रमाणित गरेको गुप्ताले बताए ।अहिले यो विद्यालयमा निजी विद्यालयबाट समेत विद्यार्थीहरु भर्ना हुन आएको श्री नव दुर्गा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द यादवले बताए । दोस्रोपटक अध्यक्षको जिम्मेवारी सम्हालेका यादवले भने, ‘सुरुमा १५५ जना विद्यार्थी थिए । विद्यालय मर्ज हुने स्थिति समेत आएको थियो । तर, पछि शिक्षक, शिक्षाप्रेमी, अभिभावकलगायतसँग छलफल गरेपछि नर्सरीदेखि कक्षा २ सम्म अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्यौं । बिहान र साँझ निःशुल्क ट्युसन क्लास सञ्चालन भयो । पोशाक र खाजा पनि निःशुल्क वितरण गर्यौं । त्यसपछि एउटै निजी विद्यालयबाट २ सय बढी विद्यार्थी नव दुर्गा माविमा भर्ना भए ।’प्रत्येक वर्ष विद्यालयमा १ सय वटा विद्यार्थी बढिरहेको उनले बताए । नयाँ शैक्षिक सत्र २०८१ का लागि ८५ जना विद्यार्थी भर्ना भइसकेको उनले बताए । अंग्रेजी माध्यममा निःशुल्क तथा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको अध्यक्ष यादवको भनाइ छ । हाल विद्यालयमा ७ सय जना विद्यार्थी अध्ययनरत रहेको उनले बताए ।
निजी स्रोतमा कार्यरत शिक्षकहरुको सेवासुविधाका लागि अभिभावकले विद्यालयलाई स्वेच्छिक रुपमा सहयोग गरिरहेको उनले जानकारी दिए । त्यही सहयोगबाट नै निजी स्रोतका शिक्षकहरुलाई तलब दिइएको उनले बताए ।विद्यालयमा पेन्ट, बेन्च, डेस्कलगायतको व्यवस्थापन व्यक्तिगत लगानीमा गरेको अध्यक्ष यादवले बताए । ‘स्थानीय सरकारबाट भने सहयोग नपाएको उनले गुनासो गरे । उनले भने, ‘बाटो बनाउनु मात्र विकास होइन । शिक्षालाई प्राथमिकता दिनुपर्छ । विगतमा नगरपालिकाबाट विद्यालयले सहयोग पाएको थियो । तर, अहिले भने पाउन सकेको छैन । यो वर्षदेखि प्लस टु सञ्चालन गर्ने योजना रहेको उनले बताए । ‘विगतमा सिद्धार्थनगर नगरपालिकासँग अनुमति माग गरे पनि नपाइएको यादवले बताए । यो विद्यालयमा प्लस टु सञ्चालन भए मर्चवारलगायत यस आसपासका विद्यार्थीहरुलाई सहज हुने थियो, ’यादवले भने । सिद्धार्थनगरकै नमूना विद्यालय बनाएर देखाउने संकल्पका साथ अघि बढेको उनले बताए ।विद्यालयले यो शैक्षिक सत्रदेखि यातायात (बस) सुविधा सुरु गरेको उनले बताए । उनले विद्यार्थीको सहज हुने मध्यनजर गर्दै यो सुविधा सुरु गरिएको जानकारी दिए । बस सेवा सञ्चालन गर्न सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि.का सञ्चालक सियाराम यादवको सहयोग रहेको उनले बताए ।
विद्यालयका प्रधानाध्यापक दिपेन्द्र कुमार गौडले २०२५ सालमा श्री नवदुर्गा माध्यमिक विद्यालयको स्थापना भएको र २०७७ सम्म कक्षा ८ सम्म सञ्चालन रहेको बताए । उनले २०७७ देखि कक्षा १० सम्म पठनपाठन हुँदै आएको जानकारी दिए । कक्षा नर्सरीदेखि कक्षा ८ सम्म अंग्रेजी र कक्षा ६ देखि १० सम्म नेपाली माध्यममा पठनपाठन भइरहेको उनले बताए । विद्यार्थीहरुको अन्तरनीहित प्रतिभा झल्काउन विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै दक्ष जनशक्ति उत्पादनमा लागिपरेको उनले बताए । विद्यार्थीहरुलाई अंग्रेजी र नेपाली दुवै माध्यमको कक्षाहरु छुट्टाछुट्टै भवनमा अध्यापन गराउने व्यवस्था रहेको उनले बताए । विद्यार्थीहरुलाई किताब बोक्ने भारीबाट मुक्त गर्न ‘बुकलेस’ र ‘ब्यागलेस’ कन्सेप्टका आधारमा सबैप्रकारको व्यवस्थासहित विभिन्न विषयहरुको कक्षाका लागि छुट्टाछुट्टै व्यवस्था रहेकेन उनको भनाइ छ । प्रत्येक कक्षाकोठामा बुक कर्नर प्रोजेक्टर, ल्यापटप, प्रयोगात्मक सामग्री, डिजिटल शिक्षण सामग्री नियमित रुपमा प्रयोग हुने व्यवस्था रहेकाले जसका कारण विद्यार्थीहरुको पढाइप्रति रुची बढेको उनको भनाइ छ ।उनले भने, ‘विद्यालयले केही समस्या झेलिरहेको छ । मुख्य समस्या भनेको निजी स्रोतका शिक्षक र कर्मचारीको तलब दिन चुनौती छ । निजी स्रोतबाट शिक्षक १२ र कर्मचारी २ गरी १४ जना छन् । यसमा वडा र पालिकाले केही थप गर्नुपर्छ । विभिन्न संघ–संस्था, शिक्षाप्रेमीको सहयोग आवश्यक छ ।’ भएका स्रोतसाधनको अधिकतम सदुपयोग गरिरहेको उनले बताए । नमूना विद्यालयको रुपमा लैजान आफूहरु प्रतिबद्ध रहेको उनले बताए ।