हरिनास गाँउपालिका अध्यक्षले दिए राजिनामा

प्रकाशित मिति:

स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाका प्रमुखले अध्यक्ष पदबाट राजिनामा दिएका छन् । गाउँपालिका प्रमुख खिमनारायण मानन्धरले सामाजिक संजाल मार्फत अध्यक्ष पदबाट राजिनामा दिएको जानकारी दिएका हुन् । मानन्धरले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत लामो स्टाटस लेखेर अध्यक्ष पदबाट राजिनामा दिएको उल्लेख गरेका छन् । सामाजिक संजालमा राजिनामा दिएपछि अहिले सम्म उनी सम्पर्क बिहिन रहेको र झण्डै एकहप्ता देखी पालिका समेत नगएको बताइएको छ । अध्यक्ष मानन्धरले नेकपा एमाले स्याङ्जाको नवौ अधिवेसनमा असन्तुष्टि जनाउदै पालिका अध्यक्ष पदबाट राजिनामा दिएको सामाजिक संजालमा लेखेका छन् । उनले सामाजिक संजालमा हरुवाहरुको पाटी एमाले स्याङ्जा भन्दै राष्ट्रिय दिदी पद्मा अर्याल र नारायण मरासिनी जस्ता हरुवाहरुकै गोजिबाट नाम निकालेर नवौ जिल्ला कमिटी पदाधिकारीमा पर्नुहुने सबैलाई बधाई दिदै असन्तुष्ट पोखेका छन् ।

आफुले स्थानीय तहको निर्वाचन २०७४ को चुनाव पछि झण्डै १ हजारलाई एमाले पाटीमा प्रवेश गराएको र ०७९ मा गठबन्धलाई पराजित गरी दुईपटक निर्वाचन जितेको व्याक्तिको मुल्याङ्कन नगरेको भन्दै उनले सामाजिक संजाल मार्फत यो पाटीमा बसिरहन र गाउँपालिकाको अध्यक्ष पदमा बस्न मनले नमानेको उल्लेख गरेका छन् । प्रदेश र मेयर पदको निर्वाचन हारेकालाई जिल्ला कमिटीको अध्यक्ष, उपमेर हारेकालाई उपाध्यक्ष, पार्टी छाडेर पोइला गएकालाई सचिव, गाउँपालिकाको अध्यक्ष हारेकालाई उपसचिव र वडा अध्यक्ष हारेकालाई उपसचिव बनाएको उनले उल्लेख गरेका छन् । सामाजिक संजाल मार्फत अबका दिनदेखी कुनै पदमा र सम्मान नखोज्ने र पार्टीको कार्यक्रम देखी सदस्यता समेत नलिने घोषणा गर्दछु उनले सामाजिक संजालमा लेखेका छन् । गाउँपालिकाको अध्यक्ष पदमा दुईपटक निर्वाचन गराउनुहुनेगाउँपालिकावासीलाई भने हार्दिक आभार प्रर्कट गरेका छन् । मानन्धर हाल गाउँपालिका नेकपा एमालेको अध्यक्ष थिए । उनले उक्त अध्यक्ष पद र स्थानीइ सरकारको अध्यक्ष पदबाट समेत राजिनामा दिएको जानकारी दिएको उल्लेख गरेका छन् ।

सामाजिक संजाल मार्फत राजिनामा दिएपछि उनका समर्थकहरुले युवाहरुमा निष्ठाको राजनीति हुनुपर्छ र त्याग्न पनि सक्नुपर्छ भन्दै प्रशंसा गरेका छन् । यता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले भने सामाजिक संजालमा राजिनामा दिएको खबर बाहिर आएपनि हस्तलिखित राजिनामा कार्यालयमा नआएको बताए । पाटीभित्रको असन्तुष्टि अध्यक्षले सामाजिक संजालमा पोख्नु भएको होला भन्दै कार्यालयमा कुनै जानकारी नआएको शर्माको भनाई छ । चैत्र ३० गतेदेखी पालिकामा समेत नआएको तर सम्पर्कमा भने रहेको जानकारी उनले दिए । अध्यक्ष मानन्धरलाई सम्पर्क गर्न खोज्दा उनको फोन अफ रहेको छ । सामाजिक संजालमा लेखिएको राजिनामाको कुनै बैद्यता नहुने बताइएको छ । उनले हस्तलिखित राजिनामा दिएमा कार्यपालिकाको बैठकले निर्णय गरेपछि मात्रै स्विकृत हुने कानुनत् व्यवस्था रहेको छ ।