वैशाख १२
नवलपरासी । सुस्ता गाउँपालिका अन्तरगतका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको आर्कषण बढेको पाइएको छ ।
शैक्षिक शत्र २०८१ मा संस्थागत विद्यालयबाट सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या उल्लेख्य रुपमा बढेको पाइएको हो ।
सुस्ता गाउँपालिका वडा नम्बर १ मा रहेको राष्ट्रिय माध्यामिक विद्यालय छिवनी फेचुवामा गत शैक्षिक शत्र २०८० को तुलनामा करिब २ सय जनाको संख्यामा विद्यार्थी संख्या बढेका विद्यालयका प्रधानाध्यापक अर्जुन पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार विद्यार्थी भर्ना क्रम जारी रहेको छ । राष्ट्रिय माध्यामिक विद्यालय छिवनी फेचुवाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज कुमार गैरेले सामुदायिक विद्यालयहरुमा समेत अंग्रेजी माध्यमबाट अध्यापन गराउन शुरु गरिएको, दक्ष शिक्षकहरु रहेका र नागरिहरुमा सामुदायिक विद्यालयहरु प्रति विश्वास बढेको कारण विद्यार्थी संख्या बढेको बताउनुभयो । राष्ट्रिय मा.वि छिवनी फेचुवामा अहिले कक्षा ७ सम्म अंग्रेजी माध्यम सञ्चालन भइरहेको छ ।
त्यस्तै सुस्ता गाउँपालिका वडा २ मा रहेको महेन्द्र मा.वि. मा अघिल्लो शैक्षिक शत्रको तुलनमा एक सय जनाको संख्यामा विद्यार्थी संख्या बढेको विद्यालयका प्रधानाध्यापक सुनिल पन्थीले जानकारी दिनुभयो । पन्थीले यस वर्ष देखि बाल शिक्षा र कक्षा १ को बिचमा के.जी कक्षा सञ्चालन गरी अंग्रेजी माध्यम शुरु गर्न लागिएको बताउनुभयो ।
सुस्ता गाउँपालिका वडा नम्बर ५ मा रहेको दिपक मा.वि. पकलिहवाका प्राधानाध्यापक सन्तोष उपाध्यायले अहिले तिव्र रुपमा भर्ना जारी रहेको भन्दै विद्यार्थी संख्यामा गत शैक्षिक शत्रको तुलनामा वृद्धि हुने बताउनुभयो । प्रधानाध्यापक उपाध्यायले गाउँपालिकाले १ जना शिक्षकको व्यवस्थापन गरिदिएको खण्डमा कक्षा १ को बिचमा के.जी कक्षा सञ्चालन गरी अंग्रेजी माध्यम शुरु गरिने बताउनुभयो ।
त्यस्तै सुस्ता गाउँपालिका वडा नम्बर ५ मै रहेको वि.पी मा.वी. का प्रधानाध्यापक योगेश कुमार चौधरीले संस्थागत विद्यालयबाट स्थानान्तरण प्रमाणपत्र ल्याएका विद्यार्थीहरुलाई भर्ना गरिएको बताउनुभयो । सुस्ता गाउँपालिका उपाध्यक्ष गिता चौधरीले सामुदायिक विद्यालयको गुणस्तर सुधारको लागि आफूहरु लागिरहेको बताउनुभएको छ ।
सुस्ता गाउँपालिकाले गाउँपालिका अध्यक्ष स्वरोजगार कार्यक्रम अन्तरगत ७० जनालाई ९० दिनको लागि स्वयंसेवक शिक्षक समेत नियुक्त गरी खटाएको थियो । सामुदायिक विद्यालयहरु, पशुपति शिक्षा मन्दिर र मदरसा गरी सुस्ता गाउँपालिकामा २५ वटा सामुदायिक विद्यालयहरु रहेका छन् भने १० वटा संस्थागत विद्यालयहरु सञ्चालनमा रहेका छन् ।