हरेक बुद्धजयन्तीमा उही रटान : ४६ वर्षसम्म नबनेको गुरुयोजना कहिले पूरा होला ?,आर्थिक स्वार्थमा गुरुयोजना विपरीत संरचना धमाधम

प्रकाशित मिति:

बुटवल । विश्व शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको गुरुयोजना बनेको ४६ वर्ष हुंदा पनि पूरा हुन सकेको छैन । २०३५ सालमा जापानी वास्तुविद् प्रा. केन्जो टांगेले बौद्ध तीर्थस्थल र पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने परिकल्पना गर्दै लुम्बिनी विकास गुरुयोजना बनाएका थिए ।
लुम्बिनी गुरुयोजना अनुसार निर्माण थालिएको दुई दशकभन्दा बढी हुँदा पनि अझै १४ प्रतिशत काम गर्न बाँकी रहेको कोषको भनाइ छ ।
गुरुयोजना अनुसार १७ वर्षमा सबै संरचना निर्माण गरिसक्नुपर्ने भए पनि ४६ वर्ष पुरा हुंदासम्म अझै १४ प्रतिशत काम बाँकी छ । गएको पाँच वर्षमा लुम्बिनी गुरुयोजनाको काम जम्मा तीन प्रतिशत मात्र बढेको छ ।
विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार लुम्बिनी गुरुयोजनाका लागि हालसम्म ५ अर्व बढी रकम खर्च भइसकेको छ । अहिलेको अवस्थामा गुरुयोजना पूरा गर्न अझै ३ अर्ब भन्दा बढी बजेट आवश्यक पर्छ ।
२ वर्ष अगाडि नै गुरुयोजना अन्तर्गतका ६ वटा भवन, फोहर व्यवस्थापन, नदी डाइभर्सन बाहेकका काम सम्पन्न भएको भनिएपनि धेरै योजनाहरु निर्माणाधीन अवस्थामा छन् ।
गुरुयोजनाको ८६ प्रतिशत मात्र काम पूरा भएको कोषका उपाध्यक्ष ल्हारक्याल लामाले बताए ।
तर पछिल्ला वर्षहरुमा संघीय सरकारले वजेट नदिंएको भन्दै यही अवस्था रहे ५० वर्षमा पनि गुरुयोजना पूरा नहुने लामा बताउंछन् ।
कुल एक हजार १५५ बिघा क्षेत्रफल जमीनलाई गुरुयोजना भित्र पारी टांगेले तिनभागमा विभाजन गरेका थिए ।
एकहजार एकसय ५५ विघा जमीन तीन वर्गमाइलमा समेटिएको छ । दक्षिणतर्फको एक वर्ग माइल जमीनलाई उद्यान क्षेत्र, एक वर्ग माइललाई अन्तर्राष्ट्रिय विहार क्षेत्र र अर्को एक वर्ग माइल क्षेत्रलाई नयाँ लुम्बिनी ग्राम गरी तीन भागमा विभाजन गरेर गुरुयोजना बनाइएको छ ।
हरेक वर्षको बुद्ध जयन्तीमा गुरुयोजना पूरा गर्न वजेट अभाव हुन नदिने प्रधानमन्त्री र संघीय सरकारका विभागीय मन्त्रीहरुले रटान लगाउंछन् । तर प्रयाप्त बजेट विनियोजन नगर्दा गुरुयोजनाको काम कछुवा गतिमा छ ।
कोषका उपाध्यक्ष लामाले एउटा सरकारले श्रोत सुनिश्चित गर्ने तर सरकार फेरबदलसंगै नयां सरकारले बजेट कटौती गर्ने परिपाटीले गुरुयोजना पूरा हुन ढिला भएको बताउंछन् ।
‘विष्णु पौडेल अर्थमन्त्री हुँदा लुम्बिनी गुरुयोजना पुरा गर्न ३ अर्बको बजेट सुनिश्चित भएको थियो, पछिल्लो सरकारले ७० प्रतिशत वजेट कटौती गरिदियो अनि कसरी गुरुयोजनाका पूरा गर्न सकिन्छ ?’ उपाध्यक्ष लामाले भने ।
गुरुयोजना तयार हुँदा ५५ मिलिनियन अमेरिकी डलरमा सम्पन्न हुने अनुमान गरिएपनि त्यसको लागतलाई अहिले मूल्यांकन नगरिएको योजना प्रमुख स्मिता भट्टले बताइन् ।
लुम्बिनीका स्थानीय बासिन्दा एवं रुपन्देही ५ का पुर्व प्रदेश सभा सदस्य फखरुद्दिन खान भने लुम्बिनीलाई राजनीतिक भर्ती केन्द्र र कमाई खाने थलो बनाइएकाले गुरुयोजनाको काम पूरा नभएको दावी गर्छन् । ‘यहां गुरुयोजना पूरा गर्ने होइन, यसलाई भर्ती केन्द्र बनाउने, गुरुयोजना भजाएर पदाधिकारी र उच्च तहका कर्मचारीले अनुचित तरिकाले कमाउने र पार्टीलाई समेत चन्दा दिने थलो बनाइएको छ’–खानले भने–‘कोषमा आर्थिक अनियमितता भएको भन्दै पटक पटक अख्तियारमा मुद्दा पर्नु र पुष्टी हुनुले राजनीतिक भर्ती केन्द्र बनाउन अन्त्य गरिनुपर्छ ।’
लुम्बिनी बनाउन स्थानीयले आफ्नो जमिन दिएपनि स्थानीयलाई विकास कोषले सधैं उपेक्षा गरेको खानको गुनासो छ । कोषभित्र विदेशी र नेपालीहरुले दिएको दानबाट प्राप्त रकमले महंगो विलासी गाडी खरिद गर्ने, पार्टीका कार्यकर्तालाई काम विनै जागिर दिलाउने,गुरुयोजना र विकास कोष ऐन विपरीत मनोमानी ढंगबाट चलेको उनको आरोप छ ।
विकास कोषको आम्दानी र खर्च पारदर्शी नभएको, राजनीतिक अखडा र कार्यकर्ता भर्ती केन्द्र बनाइएको, स्थानीय समुदायको अपनत्व गराउन नसकेको, काममा डुप्लिकेसन गरेर बजेट दुरुपयोग गरेको लुम्बिनी बचाउ संघर्ष समितिका सहसंयोजक मोहम्मद इस्लाम खान बताउँछन् ।
गुरुयोजना विपरीत संरचना
कोष क्षेत्रमा गुरुयोजना विपरित संरचना बनाउने क्रम निरन्तर चलिरहेको छ ।
प्रा.केन्जो टांगेले लुम्बिनी विकास कोषको १ हजार ११५ बिगाहा क्षेत्रफलभित्र तोकिएका मापदण्ड अनुसार संरचना निर्माण गर्नुपर्ने भन्दै गुरुयोजना तयार पारे पनि त्यसको विपरीत लुम्बिनी विकास कोषले मनपरी ढंगबाट संरचना निर्माण गरेको हो ।
लुम्बिनीमा अहिले सञ्चालनमा आएको ५ हजार क्षमताको सभा हल पनि गुरुयोजना विपरीतको संरचना हो । यस्तै शान्ति स्तुपा, पानी ट्यांकी लगायतका धेरै संरचना गुरुयोजना विपरीत निर्माण भएका छन् ।
गुरु योजनामा मायादेवी मन्दिरबाट सेतो गुम्बा देखिनुपर्ने उल्लेख भए पनि त्यसलाई छेक्ने गरी पानी ट्यांकी निर्माण गरिएको छ ।
अस्थायी सभा हल, कोरियन विहारको उचाइँ, बेबी बुद्ध, वरिपरिको पर्खाल, शान्ति घण्ट, बुद्ध मूर्तिसहितको फूलबारी, संग्रहालय अगाडिको घण्ट राख्ने स्थान, कोषको क्षेत्रभित्रको सडक कालोपत्रे जस्ता संरचना गुरुयोजना विपरीत बनेका स्थानीय अगुवा अक्रम खानले बताए ।
लुम्बिनीमा गुरुयोजना अनुसार पवित्र उद्यान, विहार क्षेत्र र नयाँ लुम्बिनी ग्राम गरी तीन भाग छ । पवित्र उद्यानमा सौन्दर्यीकरणका सीमित काम बाहेक भौतिक संरचना बनाउन पाइँदैन । तर पनि भौतिक संरचना निर्माणका काम भइरहेका छन् ।

संस्कृतिविद् प्रा.डा. गितु गिरीले आर्थिक स्वार्थमा गुरुयोजना विपरीत संरचना निरन्तर निर्माण हुँदै गएको र यसमा लगाम लगाउन ध्यान नदिइएको बताए ।
सरकार र विभागीय मन्त्री फेरिएसँगै विकास कोषका पदाधिकारी फेरिने र केही कर्मचारीको स्वार्थ समेतका कारण गुरुयोजना विपरीतका काम भइरहेको उनले बताए ।
विश्व सम्पदा सूचीमा रहेका सम्पदामा भौतिक पूर्वाधार निर्माण गर्दा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) लाई जानकारी गराउनुपर्ने र निषेध गरिएको क्षेत्रमा संरचना निर्माण नपाइने प्रावधान छ ।
युनेस्कोले जथाभावी संरचना निर्माण रोक्न चासो देखाए पनि कोषले वास्ता नगरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले जनाएको थियो ।