पुतलीबजारको रणनीतिक योजना- दुई जिल्ला जोड्ने छोटोदुरीको सडक

प्रकाशित मिति:

स्याङ्जा । पुतलीबजार नगरपालिकाको आर्थिक बर्ष २०८०÷०८१ को गौरवको आयोजना अन्तर्गत दुईजिल्ला जोड्ने छोटो दुरीको सडक निमार्ण शुरु भउको छ । स्याङ्जा सदरमुकामवाट तनहुँको खैरेनीटार जोड्ने सडकको स्तरोन्नती गर्दै निर्माण सुरु हुने भएको हो । विश्व वैंकको ऋण सहयोग तथा नेपाल सरकारको अनुदानमा नेपाल शहरी शासकीय तथा पुर्वाधार आयोजना अन्तर्गतको नगरपालिकाको रणनीतिक सडक निर्माण हुन लागेको नगरपालिकाले जनाएको छ ।पुतलीबजार नगरपालिका स्थित प्रगतीनगरवाट सुरु हुने आयोजना ७.६ किलोमिटर सडक पूर्वाधार निर्माण हुने पुतलीबजार नगरपालिकाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । कुल ४० करोड ८ लाख ८५ हजार ३ सय ७६ रुपैया लागतमा निर्माण सम्झौता भएको आयोजना सम्झौताको १५ महिनामा निर्माण सम्पन्न हुनुपर्ने छ ।

आयोजना निर्माणको जिम्मा लामा कन्ट्रक्सन प्रा.लि काठमाण्डौले सम्झौता गरेको छ । गत चैत्र २६ सम्झौता गरेको निर्माण कम्पनीले दुई महिनाको अवधीमा ४ प्रतिशत भौतिक प्रगती गरिसकेको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिए । आयोजनाको काम २०८२ असार २५ गते सम्पन्न गरिसक्नुपर्ने गरी सम्झौता भएको नगर प्रमुख रेग्मीले पत्रकार सम्मेलनमा बताए ।आयोजना निर्माणका लागि पुतलीबजार नगरपालिकाले स्थानीय नदीजन्य वस्तुको उत्खनन् गर्न दिने भएको छ । नगरपालिकाले नगरको गौरवको आयोजना छोटो समयमा निर्माण गरिसक्नुपर्ने र निर्धारित समयमा सम्पन्न हुन नसकेमा आयोजनाको पूर्ण दायीत्व नगरपालिकालाई पर्ने भएकाले नदीजन्य वस्तु उत्खनन र संकलनका लागि मेसिन उपकरण प्रयोग गर्न दिने गरी नगर कार्यपालिकावाट निर्णय गरिएको नगर प्रमुख रेग्मीले बताए ।नगर प्रमुख रेग्मीका अनुसार नगरपालिकाले स्थानीय आँधीखोलावाट नदीजन्य वस्तु उत्खननका लागि वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन अनुसार वाड नं १, १४, १० र १३ वाट आँधीखोलाको छिडी र खल्लुवोटवाट ५५ सय घन मिटर नदीजन्य वस्तु उत्खनन गर्न अनुमती दिने निर्णय गरेको जानकारी दिएका छन् ।

आयोजनाका लागि यस अवधीका लागि वाड नं १४ मा नदीवाट ३० मिटर वाहिर अस्थायी क्रसर राख्न समेत अनुमती दिने निर्णय भएको नगर प्रमुख रेग्मीले पत्रकार सम्मेलनमा जानकारी दिए । नगर तथा जिल्लाकै गौरवको आयोजना भएका कारण जिल्ला स्थित सरकारी निकाय, संघ संस्था सबैलाई सहयोग गर्न पत्रकार सम्मेलन मार्फत आग्रह समेत गरे ।दुई जिल्ला जोड्ने रणनैतिक सडक अन्तर्गतको यो सडक तनहुँको खैरेनीटार सम्म झण्डै २५ किलोमिटर दुरीमा पुग्न सकिने हुनेछ । जुन सडक निर्माण भएपछि खैरेनीटार हुँदै दमौली, मुङलिङ हुँदै पूर्व तर्फका यात्राका लागि निकै सहज वन्ने नगर उपप्रमुख देवी अर्यालले जानकारी दिईन । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी पौडेलका अनुसार आयोजना अन्तर्गत सडक निर्माणको काम यस नगरपालिकाको ३, ८ र ९ नंवर वडामा हुने जानकारी दिए । अन्तराष्ट्रिय मापदण्ड अनुरुप निर्माण हुने सडक ५.५ मिटर चौडाईको अस्पाल्ट, २ मिटर चौडाईको सोल्डर र १ चौडाईको ड्रेन सहित सुरक्षा पर्खाल निर्माण हुनेछ । यो सडक निर्माण भएपछि स्याङ्जावासीलाई सहज हुने नगरपालिकाले जनाएको छ ।