प्रकाश न्यौपाने
जेष्ठ १६ गते
नवलपरासी । पश्चिम नवलपरासीमा अत्याधिक गर्मी बढेकोका विद्यालयहरु बिदा गरिएको छ । प्रतापपुर गाउपालिका, बर्दघाट नगरपालिका, रामग्राम नगरपालिका र सरावल गाउपालिकामा गर्मीका कारण विद्यालय बन्द गरीएको हो ।
पछिल्लो समयमा बढ्दै गएको गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेका कारण विद्यालय बन्द गरिएको पालिकाले बताएका छन । बर्दघाट नगरपालिकाले बर्खे बिदाबाट मिलान हुने गरि जेष्ठको १७ र १८ गते गरि दुई दिन विद्यालयहरु बिदा गर्ने निर्णय गरिएको बर्दघाटका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताउनु भयो ।
प्रतापपुर गाउपालिकाले १६,१७ र १८ गरि ३ दिन सम्म बिदा गरिएको गाउपालिका अध्यक्ष उमेश चन्द्र यादबले जानकारी दिनु भयो । ” अहिले ३ दिन बिदा गरेका छौं । आइतबार (२० गते) पनि यस्तै गर्मी भयो भने बिहानी कक्षा सञ्चालन गर्ने तयारीमा रहेका छौ ।” यादवले भन्नुभयो ।
सरावल गाउपालिकाले १७ गते देखी २० गते सम्म बिदा गरेको प्रमुख प्रशासकिय विशाल मिश्रले जानकारी दिनु भयो । त्यस्तै रामग्राम नगरपालिकाले जेष्ठको १७ र १८ गते गर्मी बिदा दिएको छ ।