पाँच बर्षमा नवलपरासीबाट वैदेशिक रोजगारीमा गएका १ हजार ४ सयले लिए कानुनी सहायता

प्रकाशित मिति:
प्रकाश न्यौपाने
असार ७ गते
नवलपरासी । पश्चिम नवलपरासीमा ५ बर्षमा वैदेशिक रोजगारीमा गएका १ हजार ३ सय ७६ जनाले कानुनी सहजीकरण सेवा लिएका छन । वैदेशिक रोजगारका क्रममा विभिन्न समस्यमा परेर कानुनी सहजीकरण लिने सख्या पछिल्लो समय बढेको देखिन्छ ।

आर्थिक बर्ष ०७६/७७ मा २ सय १७ जना, ०७७/७८ मा १ सय ८७ जना, ०७७/७९ मा ३ सय १८ जना, ०७९/८० मा ३ सय ६४ जना र २०८०/८१ को जेष्ठ सम्म २ सय ९० जनाले कानुनी सहजीकरण लिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका कार्यक्रम सयोजक ज्ञानेश्वर भण्डारीले जानकारी दिनु भयो । पाँच बर्षको तथ्यांक हेर्दा सबै भन्दा धेरै गत आर्थिक  देखिन्छ भने सबैभन्दा कम आर्थिक बर्ष ०७७/७८ मा  देखिन्छ ।

गत ५ बर्षको तथ्यांक हेर्दा वैदेशिक रोजगारका क्रममा ठगीका सबै भन्दा धेरै समस्याहरु देखा परेका छन । बिगत ५ बर्षमा ८ सय ७९ जना ठगीमा परेको समस्या लिएर कानुनी सहजीकरणका लागी आएका छन। त्यस्तै मृत्यु भएका ९१ जना, जेल भएका २४ जना, स्वास्थ्य सम्बन्धि समस्या भएका ६१ जना, हराएका १७ जना, अलपत्र तथा उद्घार ५२ जना, गन्तव्य मुलुकमा काम, कम्पनी र सुबिधा फरक परेका २ सय ५२ जनाले कानुनी सहजीकरण लिन आएको सामी परियोजनाले जनाएको छ ।

आर्थिक बर्ष ०७६/०७७ देखी हाल सम्म एक हजार ३ सय ७६ जनाका समस्याहरु मध्ये ७ सय ११ जनाको समस्या समाधान भएको छ । त्यस्तै ३ सय ५६ जनाको प्रक्रीया रहेको छ भने ३ सय ९ जनाको समस्या समाधान हुन नसक्ने खालका रहेको भण्डारीले उल्लेख्य गर्नु भयो । ” प्रमाण केहि पनि नहुनु, आवश्यक प्रमाण नपुग्नु, एजेण्ड नै देश बाहिर हुनु, रकम बुझाएको रसिदहरु नै नहुन जस्ता समस्याले समस्या समाधान गर्न चुनौती पुर्ण रहेका छ्न ।” भण्डारीले भन्नु भयो ।

वैदेशिक रोजगारीमा जाने क्रममा तथा गन्तव्य मुलुकमा पुगे पछि विभिन्न समस्यामा परेर आर्थिक सहायता पाउने क्रम पनि क्रमशः बढेको देखिन्छ । गत ५ बर्षमा सामी परियोजना मार्फत १३ करोड ६१ लाख २३ हजार रुपैया आर्थिक सहायता प्राप्त गरेका छन । आर्थिक बर्ष ०७६/७७ मा १ करोड २० लाख ५८ हजार, ०७७/७८ मा ४ करोड ५४ लाख १६ हजार,  ०७७/७९ मा २ करोड ५८ लाख ८४ हजार, ०७९/८० मा ४ करोड १० लाख १८ हजार र २०८०/८१ को जेष्ठ सम्म १ करोड १७ लाख १९ हजार रुपैया प्राप्त गरेका छन ।

वैदेशिक रोजगारीलाई सहज र सरल बनाउन रामग्राम नगरपालिका लागी परेको उपप्रमुख सम्झना चौधरीले बताउनु भयो । ” हामी वैदेशिक रोजगारीलाई सुरक्षीत बनाउन लागि परेका छौं । वैदेशिक रोजगारीको सुचना दिने, न्यायमा पहुँच बढाउने, सीप बिकास गराउने, मनोसामाजिक परामर्श र बित्तीय साक्षरताका कक्षाहरु सामी मार्फत सञ्चालन गर्ने गरेका छौं ।” चौधरीले भन्नु भयो ।