शिक्षामा बुटवल पब्लिकको नौलो उदाहरण : खेल र कृषि सिकाउन आफ्नै स्टेडियम, टनेल र स्वीमिङ पुल

प्रकाशित मिति:

तिलोत्तमा, ८ असार । व्यवहारिक सिकाई मार्फत गुणस्तरीय शिक्षा दिने अभियानमा कटिवद्ध बुटवल पब्लिक स्कुलले नेपालमै नौलो गुड प्राक्टिस शुरु गरेको छ । जस अनुसार विद्यालयले २ बिघा छुट्टै जग्गामा खेलकुद र कृषि खेती सिकाउन आफ्नै स्टेडियम, हाइटेक टनेल र स्वीमिङ पुल बनाएको छ । तिलोत्तमाको वडा नं ११ बेलडांडामा रहेको २ बिघाको प्लटमा गेटबाट प्रवेश गर्नेवित्तिकै हरियो दुबोले ढाकेको मैदान सहित आकर्षक गार्डेन र छेवैमा स्वीमिङ पुल छ , अलि पर तरकारी खेती गर्ने हाइटेक टनेल छ । अलि पश्चिम पुग्दा फुटबल र क्रिकेट मैदान सहित प्याराफिट छ । थरिथरिका आकर्षक पुर्वाधार र रमणीय दृश्य देखेपछि धेरै मानिस आखिरमा यो के हो भनेर अलमल पर्छन् । शहरी क्षेत्रका सबैजसो निजी विद्यालयहरुको मापदण्ड अनुसारको आफ्नै खेल मैदान र अन्य सिकाई पुर्वाधार नभएको परिप्रेक्ष्यमा तिलोत्तमाको बुटवल पब्लिक स्कूलले दुई बिघा क्षेत्रफलमा १५ करोड बढी लगानीमा आफ्नै स्टेडियम, स्वीमिङ पुल, टनेल र हरियालीयुक्त उद्यान बनाएको हो । साथै खाद्यान्न बालीको खेती कसरी गरिन्छ भन्ने विद्यार्थीलाई सिकाउन खेत पनि लिजमा लिएको छ । २०५९ सालमा स्थापना भएको यो स्कूलले यो शैक्षिक सत्रदेखि विद्यालय भवन भन्दा १५ किलोमिटर टाढा तिलोत्तमा ११ बेलडांडामा २ बिघा जग्गा खरिद गरेर रिसर्च एण्ड स्पोर्टस् सेन्टरका पुर्वाधार बनाएको हो ।

पढाईमा व्यस्त हुनुपर्दा विद्यार्थीलाई शारीरिक ब्यायाम कम हुने र आफ्नै खेल मैदान नहुदा खेल प्रतियोगिता र अभ्यास गराउन पनि कठीन भएपछि एउटै मैदानमा क्रिकेट र फुटबल खेल्न मिल्ने स्टेडियम सहित स्वीमिङ पुल र हाइटेक टनेल बनाएर विद्यार्थीलाई व्यवहारमार्फत सिकाउन थालेको विद्यालयका अध्यक्ष हेमलाल शर्मा भुसालले बताए ।
‘विकसित मुलुकमा विद्यालयको अनुमति लिन खेल मैदान,स्वीमिङ पुल र कृषिसंग सम्बन्धित संरचना अनिवार्य भएको हुनुपर्छ,त्यसैलाई अनुशरण गर्दै संभवतः नेपालमै पहिलोपटक एकैथलोमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्टेडियम र अन्य संरचना बनाएका हौं’–भुसालले भने– ‘निजी विद्यालयहरु नाफा मात्र कमाउने तर विद्यार्थीलाई गुणस्तरीय सिकाई सुविधा नदिने भन्ने आम धारणा छ, यसलाई गलत सावित गर्न र विद्यार्थीको सर्वाङगीण विकासमा आवश्यक पुर्वाधारमा लगानी गर्नुपर्छ भन्ने उदाहरण देखाउन रिसर्च एण्ड स्पोर्टस् सेन्टरका पुर्वाधार बनाएका हौं ।’

बढ्दो शहरीकरणका कारण खेतबारी देख्न नपाउने अहिलेको पुस्ताका विद्यार्थीलाई दैनिक उपभोगमा आउने खाद्यान्न देखि आलु,प्याज र तरकारी कसरी उत्पादन हुन्छ भन्ने समेत जानकारी नहुने अवस्था भएकाले उनीहरुलाई प्राक्टिकल्ली खेती गराएर ज्ञान दिन हाइटेक टनेल बनाएको र लिजमा लिएको खेतमा धान,गहुं मकै, दाल खेती कसरी हुन्छ भन्ने सिकाइने भुसालले बताए ।
स्वीमिङ पुलमा विद्यालयका सबै विद्यार्थीलाई पालैपालो हरेक हप्ता पौडी प्रतिस्पर्धा पनि गराइरहेको र आगामी वर्षदेखि हरेक वर्ष पौडी प्रतियोगिता गर्ने योजना रहेको उनले बताए ।

शहरको कोलाहल र विद्यालयको बन्द कोठा भन्दा बाहिर आकर्षक हरियालीयुक्त फराकिलो उद्यान ९बगैंचा० मा घुमिफिर, विभिन्न खेलकुद अभ्यास र पौडी खेल्न पाउंदा विद्यार्थीलाई पढाईप्रति थप जांगर र उत्साह थपिएको संस्थापक प्रिन्सिपल मीरा शर्माले बताइन् ।
व्यववहारमार्फत सिकाईले विद्यार्थीको पठनपाठनमा सकारात्मक प्रभाव पार्ने विद्यालयको विश्वास छ । अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले बुटवल पब्लिक स्कुलको यो अभ्यास अरु निजी तथा सरकारी विद्यालयले पनि अनुशरण गर्नसके देशकै शिक्षाको गुणस्तर माथि उठाउन टेवा मिल्ने बताए ।

एक अभिभावकले नाम नलेख्न आग्रह गर्दै विद्यालयको नयां खेल पुर्वाधारले बालबालिकालाई खेल प्रतिभा प्रष्फुटन संगै शारीरिक तन्दुरुस्ती बनाउन र कृषिप्रधान भनिएको मुलुकका विद्यार्थीलाई कृषि सम्बन्धी व्यवहारिक ज्ञान दिलाउने भएकाले बालबालिका खुशी र सन्तुष्ट भएको बताए ।
स्टेडियम, स्वीमिङ पुल र टनेलमा अभ्यास गर्दा विद्यार्थीलाई हाल कुनै अतिरिक्त शुल्क नलिइएको प्राचार्य भुसालले बताए । कक्षा १२ सम्म पढाई हुने यो विद्यालयमा १२ सय विद्यार्थी अध्ययनरत छन् । प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्त्राम शर्माले बुटवल पब्लिक स्कुलको यो अभ्यासले निजी क्षेत्रका विद्यालयहरु आफ्ना विद्यार्थीलाई प्राक्टिकल गराएर गुणस्तरीय शिक्षा दिन कसरी लगानी गर्छन् भन्ने उदाहरण पेश गरेको बताउंछन् ।