बुटवल । रक्तदान–जीवनदान भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै लायन्स क्लब अफ बुटवल तिनाउले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुटवल–११, बुद्धनगरमा संचालन गरिएको उक्त कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । उक्त कार्यक्रममा वर्षादको बावजुद पनि उल्लासमय सहभागीताको लागि सम्पूर्ण रक्तदाताहरुलाई क्लबका अध्यक्ष लायन अरुण खनालले विशेष धन्यवादका साथ प्रमाण–पत्र प्रदान गर्नुभएको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रम संयोजक लायन गुञ्जन गाहाले मानिसको जीवन बचाउने कार्यका लागि रगत अत्यावश्यक भएकोले क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो । हरेक ३ महिनामा १ पटक आफ्नो खेर जाने रगत दान गर्नु आफ्नो स्वास्थ्यको लागि फाईदाजनक तथा मानविय रुपमा महान् पुण्यको कार्य हुने भएकोले सबैले नियमित रुपमा रक्तदान गर्नुपर्ने कुरामा जोड दिदैं क्लब अध्यक्ष खनालले रक्तदान गर्नका लागि प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।