पर्यटन मन्त्री पाण्डेद्धारा विमानस्थलको निरीक्षण, बुद्धजन्मस्थल नै विमानस्थल चल्ने आधार भएको भनाई
लुम्बिनी– संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डेले शुक्रबार गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । मन्त्री भएपछि पहिलो पटक विमानस्थल आएका मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि सरकारले गरेका पछिल्ला निर्णय र कार्यान्वयनका सम्बन्धमा विमानस्थलको स्थलगत निरीक्षण गरेका हुन् । निरीक्षणपछि सञ्चारकर्मिसंग बोल्दै मन्त्री पाण्डेले सरकारले निकै जिम्मेवारीपूर्वक भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि उत्साहपूर्वक कार्ययोजना बनाएर अगाडि बढेको बताए । उनले विमानस्थल सञ्चालनका लागि सरकारले सेवाशुल्कमा छुट सहित हवाई कम्पनीहरुलाई आर्कषित गराउन खोजिएको बताए । उनले गौतमबुद्ध विमानस्थल बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण गरिएको बताउँदै यसैलाई अन्तर्राष्ट्रिय यात्रु ल्याउने माध्यम बन्ने बताए । मन्त्री पाण्डेयले भिस्सा अफिस, श्रम लगायतका अत्यावश्यक सेवाहरू भैरहवाबाटै शुरू गर्ने निर्णय गरेको बताए । बुद्वजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण भएको विमानस्थलमा नियिमत उडानका लागि मन्त्रालयका तर्फबाट पहलकदमी भईरहेको बताए । निरीक्षण अघि विमानस्थलको अवस्थाका बारेमा गरिएको बिफ्रिङमा विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकि नराख्न निर्देशन दिए ।
उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामाले आफूहरुका तर्फबट बौद्ध राष्ट्रहरुसँग उडानका लागि पहल गरेको बताए । उनले श्रीलंका, भियतनाम, चिन लगायतका मुलुकका उच्च पदस्थ अधिकारीहरुसँग बुद्धजन्मस्थलमा रहेको विमानस्थलमा उडान भर्न आग्रह गरिएको र सकरात्मक जवाफ आएको बताए ।मन्त्रालयका सचिव डा।गणेशप्रसाद पाण्डेले गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि वातावरण बन्दै गएको बताउँदै अब यसलाई बुद्धजन्मस्थल आएको अनुभूती दिने गरी सौन्दर्यकरण गर्न सुझाव दिए ।
उक्त अवसरमा गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले अन्तर्राष्ट्रिय उडानका लागि सबै तयारी पूरा भएको बताए । उनले विमानस्थल नेपालको पुर्वमा चितवनदेखि सुदुरपश्चिमसम्मका यात्रुका लागि उपयुक्त ठाउमा रहेकाले यसबाट धेरैले लाभ लिन सक्ने बताए ।
उनका अनुसार सन् २०२२मा ३१ हजार यात्रुले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट आवतजावत गरेकोमा सन् २०२३ मा ४ हजार र सन् २०२४ को जुलमईसम्म ९२३ जनमले मात्रै उडान भरेका छन् ।निरीक्षणमा सिद्वार्थनगरपालिकाका मेयर ईस्तियाक अहमद खाँन, देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिरा खत्री, नागरिक उडडयन प्राधिकरणका अधिकारीहरुको उपस्थिति थियो ।मन्त्री पाण्डे सहितको टोलीले टर्मिनल भवन, टावर, पार्किङ, विशिष्ट कक्ष, धावनमार्गको निरीक्षण गरेका थिए । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान रोकिएदा निजि क्षेत्रको अर्बौं लगानी जोखिममापरेको छ । यसअघि लुम्बिनी विकास कोषका तर्फबाट उपपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेयलाई विमानस्थलमा स्वागत गरेको थियो । कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा, कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरण, सदस्य सचिव सानुराजा शाक्य लगायतले स्वागत गरेका हुन् ।लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डे बुद्वजन्मस्थल लुम्बिनी आएका हुन । शनिबार बुद्वजन्मस्थल लुम्बिनीमा कोषको परिषद बैठक बस्नेछ ।