नेपथ्यसँगै नाच्यो न्यूयोर्क

प्रकाशित मिति:

न्यूयोर्क- हजारौँ दर्शकमाझ अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ गाइरहँदा जताततै राष्ट्रिय झण्डा हल्लिरहेको देखेपछि गायक अमृत गुरुङ भावविभोर बन्नपुगे। धुन बज्दा बज्दैको क्षण उनले बीचैमा दुवै हात उचाले र अनुरोध गरे, ‘संसारभर फैलिएर रहेका नेपालीभाषीहरू एक भएर बसौँ है।’ प्रतिउत्तरमा टनाटन भरिएको ‘टर्मिनल फाइभ’ हलै थर्कमान हुनेगरी दर्शकले समर्थन जनाए।अमृतको यो आह्वानसँगै अमेरिकाको शृंखलाबद्ध कन्सर्टमध्ये पाँचौँ आयोजना पनि न्यूयोर्कमा उत्तिकै भव्यतासाथ सम्पन्न भएको छ। विश्वकै केन्द्र मानिने यो सहर, नेपाली लोकरक ब्यान्ड नेपथ्यले अमेरिकामा आफूलाई सबैभन्दा धेरैपटक प्रस्तुत गरेको सहर पनि हो। यसपटक यो सहरमा नेपथ्य प्रवेश गर्दैगर्दा उत्साही नेपालीहरूको टोली परम्परागत पोसाकसहित स्वागत गर्न लागोर्डिया विमानस्थल पुगेका थिए। उनीहरूले साथमा लिएर गएको पञ्चेबाजा टोलीले तयार पारेको धुनसहित ब्यान्डलाई न्यूयोर्क सहरमा भित्र्याइएको थियो। निर्धारित समयअनुसारै कन्सर्ट शनिबारको बेलुकी ठीक नौ बजे सुरु भएको थियो।

नेपथ्यमा नयाँ तथा सार्वकालिक हिट गीतहरू प्रस्तुत गरिएको यो कार्यक्रममा गीतहरूको बीचमा गायक अमृत गुरुङले बोलेका सामाजिक तथा सांस्कृतिक टिप्पणीहरूमा समेत दर्शकले उत्तिकै आनन्द मानेको देखिन्थ्यो।उनले गीत प्रस्तुति सँगसँगै यसरी दर्शकसँग दोहोरो संवादको क्रम कार्यक्रमको अन्तिमसम्मै जारी राखेका थि। कतिपय गीतहरू आफूले नेपालका जटिल भूभागहरूमा पदयात्राकै क्रममा तयार पारेको र कतिपय उतै संकलन गरेको जानकारी पनि उनले दिएका थिए। कन्सर्ट अवधिभर दर्शकहरूले भरिएको सिङ्गै ‘टर्मिनल फाइभ’ हल बत्ती, आवाज र उफ्रिरहेका खचाखच भिडको उत्साहले उचालिएको थियो।नेपाली भाषा रहुन्जेल हामी नेपालीहरू रहिरहने छौं,’ अमेरिका बस्दै आएका दर्शकहरूलाई अमृतले अनुरोध गरे, ‘संसारमा जतासुकै गए पनि भावी सन्ततिलाई सके आफ्नो मातृभाषासमेत, नत्र नेपाली भाषामार्फत उनीहरूको जरासँग जोडिदिन नछाड्नुस् है।’ कार्यक्रममा ‘यो जिन्दगानी’ प्रस्तुत हुँदा भावुक भइरहेका दर्शकलाई त्यसपछि भने ‘गाउँ–गाउँबाट उठ’ले जुरुक्कै उचाल्दै ‘रेशम’, ‘तालको पानी’ र ‘रातो र चन्द्रसूर्जे’ जस्ता प्रस्तुति मार्फत चरमोत्कर्षमा पुर्‍याएको देखिन्थ्यो।