तनहुँ, भदौ – निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको म्याद थप गरिएको छ। तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको म्याद यही भदौ १२ गतेसम्म रहेकामा काम पूरा नभएपछि १०१ दिन म्याद थप गरिएको हो।यसअघिको म्याद अवधिसम्म जम्मा २८ प्रतिशत प्रगति हासिल भएको मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए।पश्चिम खण्डमा २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ।
पश्चिम खण्डमा २० किलोमिटर दूरीमा दुई लेन सडक कालोपत्र सकिएको छ। सो खण्डअन्तर्गत म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र पोखरा महानगरपालिका पर्दछन्।पौडेलका अनुसार सोही अवधिमा ०।५ पाँच किलोमिटर सडक चौडा गर्ने काम भएको छ भने ९५ प्रतिशत ‘ब्याक कटिङ’ सम्पन्न भएको छ। पौडेलका अनुसार त्यस अवधिमा १३ पल निर्माण गर्ने लक्ष्य रहेकामा पाँच वटाको काम सकिएको छ । आठ वटा पुलको संरचना निर्माण सम्पन्न भइसकेको छ।सडकको स्तरोन्नति हुने क्षेत्रभित्र रहेका २४ वटा खानेपानी संस्थासँग सम्बन्धित पाइप लाइन तथा संरचनाहरु स्थानान्तरणका लागि सम्झौता भइ सम्बन्धित उपभोक्ताबाट स्थानान्तरण भइरहेको पौडेलको भनाइ छ।