जेष्ठ नागरिकको भत्ता छिट्टै आउने भएकाले धैर्य गर्न गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईको आग्रह

प्रकाशित मिति:

गल्याङ  । गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले जेष्ठ नागरिकको भत्ता छिट्टै आउने बताउनुभएको छ । संघीय सरकारको दायित्वमा रहने जेष्ठ नागरिकको भत्ता संघीय सरकार मातहत रहेको पञ्जिकरण विभागको गल्तीका कारण समयमै प्राप्त हुन नसकेको कारण केही ढिलाई भएको उहाँले स्पष्ट पार्नुभयो । गल्याङ एफएमसँग सोमबार भएको कुराकानीमा नगरप्रमुख भट्टराईले भन्नुभयो, ‘नगरपालिकाले समयमै आवश्यक बजेटका लागि ताकेता गरेपनि पञ्जिकरण विभागले मन्त्रालयमा माग्ने क्रममा प्राविधिक भुलबस ७१ लागि १७ बनाइ पठाएका कारण समयमै बजेट आउन पाएन ।’प्राविधिक समस्या भएको कुरालाई नगरपालिकाको तर्फबाट पटक पटक प्रष्ट पार्ने काम भएपनि केही व्यक्तिले निर्लज्ज राजनीति गर्न खोजेको उहाँले स्पष्ट पार्नुभयो ।नगरप्रमुख भट्टराईले भन्नुभयो, ‘म यही कामको लागि हिजो पनि अर्थमन्त्रीसँग कुराकानी गरेको छु अहिले पनि म काठमाडौंमा छु र छिटो भन्दा छिटो जेष्ठ नागरिकलाई भत्ता दिलाउन प्रतिबद्ध छु ।’
जेष्ठ नागरिकलाई समयमै भत्ता दिलाउनका लागि आफु प्रतिबद्ध रहेको भन्दै उहाँले अनावश्यक अफवाह नफैलाउन सम्बन्धित व्यक्तिलाई आग्रह गर्नुभयो ।

राजनीति गर्ने अनेक विषय हुन्छन्, तर यस्तो विषय किन रोजिएको छ, मैले बुझ्न सकेको छैन’ नगरप्रमुख भट्टराईले भन्नुभयो, ‘यस्तो नकारात्मक चिन्तनको राजनीतिले व्यक्तिलाई कहीं पनि पु¥याउँदैन ।’संघीय सरकारबाट बजेट प्राप्त भएपछि कोष तथा लेखा नियन्त्रणको कार्यालयबाट पैसा सिधै लाभग्राहीको खातामा जाने भएकाले यसमा कुनै शंका र उपशंका उब्जाउन आवश्यक नभएको उहाँले बताउनुभयो ।
विभिन्न कारणले देशका ७५ भन्दा बढि पालिकामा जेष्ठ नागरिकको भत्ता रोकिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका प्रमुख शिब सेढाईको भनाई छ । प्रक्रिया पुरा गरी रोकिएको भत्ता पठाउन आफुहरुले पत्र पठाइसकेको उहाँले बताउनुभयो ।