बर्दघाटमा राजधानी बाहिरको पहिलो ट्रमा सेन्टरको शिलान्यास

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
असोज १३ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा देशकै दोस्रो ट्रमा सेन्टरको शिलान्यास गरिएको छ । बर्दघाट नगरपालिकामा ९ करोड १ लाख ५३ हजार ७ सय ६४ रुपैयाँ लागतमा निर्माण हुने ट्रमा सेन्टरको शिलान्यास आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गर्नु भएको हो ।


शिलान्यास समारोहमा मन्त्री पौडेलले स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन अस्पतालहरूको सेवाको आधारमा वर्गीकरण गर्नु पर्ने बताउनु भयो । धेरैले अस्पताललाई शैयाका आधारमा वर्गीकरण गरेको उल्लेख गर्दै मन्त्री पौडेलले शैयाका आधारमा नभइ सेवाका आधारमा अस्पतालहरुको वर्गीकरण गरि सेवालाई बिस्तार गर्नु पर्ने बताउनु भयो । मन्त्री पौडेलले स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गर्दै स्वास्थ्य नीति निर्माण गर्नुको महत्त्वमा जोड दिनुभयो। उहाँले उपकरण र दक्ष जनशक्तिलाई प्रभावकारी रूपमा सञ्चालन गर्नु उल्लेख गर्नु भयो ।


हाल नेपालमा १० देखि १२ जना बिरामीले दैनिक स्वास्थ्य उपचारको लागि हारगुहार गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै, देशमा ५ लाख जनाले आफ्नो स्वास्थ्य उपचारको अभावका कारण गरिबीको रेखामुनि धकेलिने तथ्य प्रस्तुत गर्नुभयो। मन्त्री पौडेलले स्वास्थ्य बीमाको सीमा ५ लाख रुपैयाँ पुर्याउने तयारी भइरहेको र स्वास्थ्य बीमा प्रणालीलाई थप प्रभावकारी बनाउन रोजगारमा रहेका सबैले मासिक २ प्रतिशत योगदान गर्नुपर्ने बताउनुभयो। हालसम्म १६ लाख मानिसहरूले स्वास्थ्य बीमामा सहभागिता जनाइसकेको र आगामी वर्षहरूमा यस संख्या ६० लाख पुर्याउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो। उहाँले जनसहभागिताको योगदानमा आधारित स्वास्थ्य बिमाबाट स्वास्थ्य सेवामा प्रदान गर्ने योजना रहेको बताउनुभयो।


ट्रमा सेन्टरले स्थानीय जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास लिइएको छ। १८ महिनामा सम्पन्न हुने ट्रमा सेन्टर २०८२ साल पौष २३ गतेभित्र सम्पन्न गरिने योजना रहेको छ। बर्दघाट ट्रमा सेन्टरको शिलान्याससँगै यो क्षेत्रका जनताले अत्याधुनिक स्वास्थ्य सेवाको पहुँच प्राप्त गर्नेछन्। बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले ट्रमा सेन्टरको निर्माणले बर्दघाटका स्वास्थ्य क्षेत्रमा नया आयम ल्याएको बताउनु भयो । नगर प्रमुख श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा नं. २ का अध्यक्ष गणेश बहादुर क्षेत्रीले गर्नु भएको थियो ।


कार्यक्रममा पश्चिम नवलपरासीका जनप्रतिनिधिहरु र जिल्लामा सक्रिय राजनीति दलका प्रतिनिधि र स्थानीयहरुको उल्लेखनिय सहभागी रहेको थियो ।