लुम्बिनी वाणिज्य क्याम्पसमा प्रश्नपत्र निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

प्रकाशित मिति:

आश्विन १३ । बुटवल देवीनगर स्थित लुम्बिनी वाणिज्य क्याम्पसमा प्रश्नपत्र निर्माण सम्बन्धी एक दिने कार्यशाला गोष्ठी आइतबार सम्पन्न भएको छ । लुम्बिनी वाणिज्य क्याम्पस, स्वायत्त परीक्षा सञ्चालक समितिको आयोजनामा भएको गोष्ठीमा त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्ट एम.फिल. कार्यक्रमका पूर्व निर्देशक प्रा.डा. माधवराज कोइराला श्रोत व्यक्तिको रूपमा रहनुभएको थियो ।

स्वायत्त परीक्षा सञ्चालक समिति अध्यक्ष एवं लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षता, लुम्बिनी वाणिज्य क्याम्पस स्याट संयोजक पुनाराम घिमिरेको सञ्चालन रहेको गोष्ठीमा प्रा.डा. उपाध्यायले गोष्ठीको उद्देश्य र औचित्यतामाथि प्रष्ट पार्दै प्रश्नपत्र सम्बन्धी अनुभवहरु सुनाउनुभएको थियो ।लुम्बिनी वाणिज्य क्याम्पसमा प्राध्यापनरत ४१ जना प्राध्यापकहरुको सहभागिता रहेको गोष्ठीमा श्रोत व्यक्ति प्रा.डा. कोइरालाले प्रश्नपत्र निर्माणका विधि, प्रक्रियाको बारेमा प्रशिक्षण दिदै प्राध्यापकहरु प्रश्नपत्र निर्माणमा सूक्ष्म तरिकाले लाग्नुपर्ने र गुणस्तरीयताका विभिन्न मापदण्डहरुलाई पनि ख्याल गर्नुपर्ने बताउनुभयो ।