लगानीमैत्री वातावरण बनाउने जिम्मा सरकारले लिन्छः मुख्यमन्त्री आचार्य

प्रकाशित मिति:

बुटवल–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले लगानीमैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारले लिने बताउनु भएको छ । रुपन्देही उद्योग संघको ४६ औं बार्षिक साधारणसभा उद्घान कार्यक्रमलाई शनिवार बुटवलमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले लगानीमैत्री वातावरण बनाउन तीन तहकै सरकार प्रतिबद्ध भएर लाग्ने बताउनु भएको हो । प्रदेश सरकारले अगाडी बढाएका औद्योगिक क्षेत्रको विकासको लागि योजनाबद्ध काम हुने समेत स्पष्ट पार्नु भएको छ । लुम्बिनी प्रदेश सरकारले तराईका केही जिल्लाहरुमा औद्योगिक क्षेत्र बनाउनेगरी निर्णय गरेको थियो । सो निर्णयहरुको कार्यान्वयन गर्नेगरी काम अघि बढ्ने समेत जानकारी गराउनु भयो ।उद्योगी, व्यवसायीको उत्साह संग प्रदेशको समग्र विकासको सम्वन्ध जोडिएको भन्दै मुख्यमन्त्री आचार्यले सरकारले उद्योगीमैत्री नीति अलवम्बन गरेको बताउनु भयो । ‘प्रदेश सरकारले राम्रो संग बुझेको छ । जव सम्म उद्योगी, व्यवसायीहरुले निर्विवाद ढंगले उहाँहरुलाई उत्साहित बनाएर सरकार अघि बढ्न सक्दैन, तव सम्म मुलुकको पनि उन्नती हुन सक्दैन । प्रदेशको पनि विकास हुन सक्दैन । विकास गर्नेभनेकै नीजि क्षेत्रले हो’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘सरकारले लगानीको वातावरण बनाउछ । लगानी गरेर विकास गर्ने भनेको नीजि क्षेत्रले हो ।’

उत्पादनको क्षेत्रमा लगानी बढाउन मुख्यमन्त्री आचार्यले जोड दिनुभयो ।‘हामी परनिर्भर होइन, आत्मनिर्भर हुन जरुरी छ । स्थानीय उत्पादनलाई बढाउने र आयात भन्दा निर्यातमा जोड दिन जरुरी छ’उहाँले भन्नुभयो,‘स्वदेशि उत्पादनलाई बढाउन सरकारले पनि साथ दिन्छ । स्थानीय उत्पादनको बजारीकरणको लागि सरकारले सहयोग गर्छ ।’ व्यवसायीहरुलाई पर्ने कानुनी जटिलताको काँठो फुकाउन सरकार तयार रहेको समेत बताउनु भयो । ‘प्रदेश सरकारले बनाएका कानुनबाट यहाँहरुलाई काम गर्न गर्ने सन्दर्भमा कुनै समस्या परेको छ भने त्यसलाई सहजीकरण गरेर, त्यो कानुनलाई संशोधन गरेर उद्योगीमैत्री बनाउनको निमित्त प्रदेश सरकार तयार छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘तपाईहरुलाई परेका कानुनी समस्याहरु, ति बाधा अड्चनहरुलाई फुकाउन हामी तयार छौं । त्यस्ता कानुनहरुमा समस्या देखा परेका छन् भने समयमा बुदागत रुपमा सुझाव राख्न सक्नुहुन्छ ।’ उद्योगी, व्यसायीहरुको सुझावलाई सरकारले सम्वोधन गर्ने प्रतिबद्धता मुख्यमन्त्री आचार्यले व्यक्त गर्नु भयो । रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप साप्कोटाको अध्यक्षतामा तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन गरिएको थियो ।