प्रथम कालीगण्डकी प्रिमियर लिग क्रिकेट प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

कालीगण्डकी गाउँपालिकामा पहिलोपल्ट आयोजना गरिएको कालीगण्डकी प्रिमियर लिग टि १० क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । पहिलो संस्करणको उपाधी कृष्णगण्डकी वारियर्सले हात पारेको छ । फाइनल खेलमा जगत्रदेवी टाइगर्सलाई ७ रनले हराउँदै वारियर्सले उपाधी जितेको हो ।  क्रिकेट खेलको विकास र प्रवर्द्धन गर्नका लागि खेलको व्यवसायिकरण गर्ने अवधारणा अनुरुप यो प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी युवराज राना, म्यान अफ दि म्याचको उपाधी कृष्ण न्यौपाने, सर्वोत्कृष्ट ब्याट्सम्यान मिलन न्यौपाने, सर्वोत्कृष्ट बलर सन्तोष भट्टराई र उदयीमान खेलाडीको उपाधी अभिषेक भट्टराईले हात पार्नु भएको थियो ।

फाइनल खेल तथा समापन समारोहको प्रमुख आतिथ्यता गर्नुभएका कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले क्रिकेट खेलको बढ्दो क्रेजलाई मध्यनजर गर्दै आगामी संस्करणको अध्यक्ष कपमा महिला क्रिकेटलाई समेत समावेश गर्ने जानकरी गराउनु भयो । कालीगण्डकी गाउँपालिका समग्र खेलकुद क्षेत्रमा प्रगति गरिरहेको विषय सुखद रहेको उहाँले बताउनु भयो । प्रतियोगितामा कालीगण्डकी गाउँपालिकाका कुल १० टिमका ११० खेलाडी समावेश रहेका थिए । नयाँ र प्रतिभावान खेलाडी उत्पादन गर्दै समग्र राष्ट्रको प्रतिनिधित्व गर्न सक्ने सक्षम खेलाडी उत्पादन गर्ने प्लेटफर्मको रुपमा यस प्रतियोगिता विकास गर्न खोजिएको खेल संयोजक नारायण न्यौपानेले बताउनु भयो । नव मिर्मिरे युवा क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगिता आश्विन २२ गतेदेखि आश्विन २९ गतेसम्म चलेको थियो ।