एमाले सिद्धार्थनगरको दोस्रो अधिवेशन कार्तिक १२ गते हुने

प्रकाशित मिति:

भैरहवा,  कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको दोस्रो नगर अधिवेशन यही कार्तिक १२ गते हुने भएको छ । आइतबार भैरहवामा बसेको नगर कमिटीको पूर्ण बैठकले कार्तिक १२ गते सोमबार बिहान ११ बजेदेखि सिद्धार्थनगर नगरपालिका–१२ स्थित युनिक बैंक्वेटमा दोस्रो अधिवेशन गर्ने निर्णय गरेको हो ।नगर अधिवेशनका लागि यही कार्तिक ९ गते शुक्रबार दिउँसो १ बजे १३ वटै वडामा प्रतिनिधि छनौट गरिने एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले बताए ।अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समितिहरु बनाइएको छ । जसअन्तर्गत अधिवेशन आयोजक समितिको संयोजकमा नगर अध्यक्ष चक्र बहादुर थापा रहेका छन् । त्यस्तै आर्थिक समितिमा अर्जुन कुमार गिरी, मञ्च व्यवस्थापनमा कुमार गुरुङ, प्रतिनिधि व्यवस्थापनमा माया कंडेल, प्रचार प्रसार समितिमा शशि पन्थी र स्वयंसेवक व्यवस्थापनमा नर्जुन गुरुङ रहेका छन् ।

बैठकमा बोल्दै प्रमुख अतिथि एमाले पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले सिद्धार्थनगरमा पार्टीलाई अझै मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले त्याग र समर्पणको संस्कृति स्थापित गर्न आग्रह गरे । उनले भने, ‘भैरहवा इतिहास बोकेको ठाउँ हो । नेताले नेता स्थापित गर्नुपर्छ । म भन्दा फलानो राम्रो भन्न सक्नुपर्छ । पार्टीमा इमान्दीरताका साथ काम गरिरहेकालाई प्राथमिकता दिनैपर्छ ।’राष्ट्रिय सभाका पूर्व सदस्य तथा एमाले रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज समेत रहेका नेता भट्टराईले वर्तमान सरकार राम्रो काम गर्नका लागि बनेको बताए । ‘सत्ता पक्ष र प्रतिपक्ष मिलेर सरकार बनाएका छौं । संसारमा यस्ता घटना बिरलै घट्ने गर्छन् । अर्थतन्त्रमा सुधार, संविधान संशोधन, विकास निर्माणका कार्यलाई तीव्रता दिन लगायत एजेण्डाका साथ नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बनाएका छौं, हामीविरुद्ध अहिले पनि घेराबन्दी छ, ’उनले भने ।त्यस्तै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख हरि प्रसाद अधिकारीले सिद्धार्थनगरमा एमाले कमजोर नरहेको दावी गरे । उनले भने, ‘कसैले पार्टी छोड्छु भन्दै धम्काएर केही फरक पर्दैन ।’ २०८४ सालमा हुने निर्वाचनमा एमालेले बहुमतका साथ निर्वाचन जित्नुपर्ने उनको भनाइ छ ।

पार्टीको रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले सिद्धार्थनगरलाई एमालेको किल्लाको रुपमा स्थापत गर्नुपर्नेमा जोड दिए । एमाले जिल्ला उपाध्यक्ष हितराज पन्थीले अधिवेशनले सभ्य र भव्य रुपमा सफल बनाउनुपर्ने बताए ।पार्टीको रुपन्देही जिल्ला सचिवालय सदस्य तथा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सिद्धार्थनगरलाई एमालेमय बनाउनुपर्ने र आगामी निर्वाचनमा पार्टीलाई बहुमतका साथ जिताउनपर्ने बताइन् ।एमाले सिद्धार्थनगरका उपसचिव कुमार गुरुङको स्वागत तथा उपसचिव माया कंडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।