वहिष्कारकाबीच एनआरएन सम्मेलन सुरु, प्रधानमन्त्रीले गरे उद्घाटन

प्रकाशित मिति:

काठमाडौं, कात्तिक  : गैरआवासीय नेपाली संघ (एनआरएनए)को एनआरएन ग्लोबल कन्क्लेभ २०२४ सुरु भएको छ।एनआरएनएको बद्री केसी पक्षले आयोजना गरेकोे ‘ग्लोबल’ सम्मेलन बहिष्कारबीच सुरु भएको हो। ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित सुरु भएको सम्मेलनको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका छन्।सम्मेलनमा गृहमन्त्री रमेश लेखक, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पर्यटनमन्त्री बद्री पाण्डे, उपसभामुख इन्दिरा रानालगायत सरकारका विशिष्ट व्यक्तिहरुको सहभागिता छ।

आरके शर्मा समूहले सम्मेलन बहिष्कार गरेपछि सम्मेलनमा पूर्वअध्यक्षहरु शेष घले, कुल आचार्यलगायत भने उपस्थित भएका छन्।होटल सोल्टीमा सुरु भएको कार्यक्रममा गैरआवासीय नेपाली दिवस, गैरआवासीय नेपालीको विविध सरोकारका विषयमा केन्द्रित रहि छलफल हुँदैछ। तीन चिरामा विभाजित भएको एनआरएनएका सबै समूहका कार्यक्रममा सरकारी अधिकारीहरुको उपस्थिति देखिने गरेको छ।कार्यक्रममा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर आरके शर्मा पक्षले विरोध जनाएको छ। शर्मा पक्षका उपाध्यक्ष एवम उपाध्यक्ष गंगाधर गौतमले साधारण सभा बहिस्कार गर्न सार्वजनिक अपिल गरेका छन्।

सर्वोच्च अदालतको आदेशको गलत व्याख्या गर्दै समूहले काठमाडौँमा अनधिकृत साधारण सभा आयोजना गर्न लागेको दाबी गर्दै उनले यस कार्यक्रमप्रति असहमति व्यक्त गरेका हुन्।कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पिएनआ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणसम्बन्धी विषयमा छलफल हुनेछ।दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा तथा नेपाल पर्यटन प्रवर्द्धन नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिकालगायत सत्रहरू रहनेछन्।