पर्यटन प्रवर्द्धन गर्न प्रमुख पर्यटकीय स्थलमा क्याविनेट बैठक राख्छौं:मुख्यमन्त्री

प्रकाशित मिति:

बुटवल १९ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्रका प्रमुख पर्यटकीय स्थलहरुको प्रवर्द्धन गर्न मन्त्रीपरिषद्का बैठक राख्ने योजना रहेको बताउनु भएको छ । सोमवार लुम्बिनी केवलकारको अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले मन्त्रीपरिषद् बैठकहरु प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलमा राख्ने गरी सरकारले योजना बनाएको बताउनु भयाे । ‘पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर लुम्बिनी केबलकारको बसन्तपुर, पाल्पाको रानीमहल, प्युठानकाे स्वर्गद्वारी लगायतका महत्त्वपूर्ण स्थलहरुमा घुम्तीरुपमा मन्त्रीपरिषद्को बैठकहरु राख्ने योजनामा छौंं’-मुख्यमन्त्री आचार्यले भन्नुभयाे-`यस प्रकारकाे बैठकले पर्यटन क्षेत्रमा सबैकाे ध्यान केन्द्रित हुने छ ।´

प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन,कृषि र उद्योग भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई बुद्ध सर्किट र १२ वटै जिल्लालाई समेटेर लुम्बिनी सर्किटका रुपमा विकास गर्ने योजनामा रहेको मुख्यमन्त्री आचार्यले बताउनु भयाे ।निजी लगानीमा बुटवलमा बनेका लुम्बिनी र सिद्धार्थ केबलकारको दीगो सञ्चालनका लागि भारतीय पर्यटक भित्राउन आवश्यक रहेकोमा मुख्यमन्त्री आचार्यले जोड दिनुभयाे । भारतीय पर्यटक भित्राउन प्रदेश सरकारले भारतको उत्तर प्रदेश र बिहार प्रदेश सरकारसंग समन्वय गरेर विशेष योजना बनाइरहेको मुख्यमन्त्री आचार्यले जानकारी गराउनु भयाे । प्रदेशको समृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्रसंग हातेमालो गर्न सरकार सधैं तत्पर रहेको बताउनु भयाे ।केवलकार अवलोकनसंगै मुख्यमन्त्री आचार्यले बसन्तपुरमा रहेको प्रख्यात शक्तिपीठ कामाख्यादेवी मन्दिर दर्शन समेत गर्नु भएको थियाे ।सो अवसरमा केबलकारका प्रबन्धक प्रज्ज्वल घिमिरेले सञ्चालनमा आएको १७ महिनामा ३ लाख पर्यटक भित्रिएका जानकारी गराउंदै भारतीय पर्यटकलाई सहज रुपमा नेपाल आउने वातावरण सरकारले बनाउनुपर्ने माग राख्नु भयाे । भारतीय पर्यटकलाई सम्मानजनक व्यवहार, सडकमा अनावश्यक चेकजांच नगर्न र चाहेजति रकम बोक्न र खर्च गर्न पाउने नीतिगत व्यवस्था गर्न घिमिरेले आग्रह गर्नु भयाे ।

२०८० जेठ १५ देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको लुम्बिनी केबलकारमा १७ महिनामा आन्तरिक र वाहेय गरी ३ लाख १५ हजार ९१६ जना पर्यटक लुम्बिनी केबलकार चढेर वसन्तपुर पुगेका जानकारी गराउनु भयाे ।अस्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केबलकार २ किलोमिटर ६ सय मिटर लामो रहेको छ । २५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ ।विश्वका विभिन्न देशमा सय वर्षदेखि १५ हजार बढी सङ्ख्यामा सञ्चालनमा रहेको यो केबलकारको प्रविधि विश्वमै अत्याधुनिक र सुरक्षित रहेको अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले बताउनु भयाे ।केबलकार सञ्चालनमा आएपछि प्रदेश सरकारको पर्यटन विकास परिषद्ले वसन्तपुरलाई प्रमुख पर्यटकीय थलोको सूचीमा सूचीकृत गरेको छ ।कामख्या देवीको दर्शनले मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण नेपाल र भारतका विभिन्न सहरबाट भक्तजनहरू उल्लेख्य सङ्ख्यामा आउने गरेको मन्दिरका मूल पुजारी सुरेश पौडेलले बताउनु भयाे ।वसन्तपुरमा दुई वर्षभित्र साढे तीन अर्ब लगानीमा एक सय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल र क्यासिनोसहित पाँचतारे होटेल बनाउने प्रक्रिया समेत अघि बढेको छ ।