रूपन्देही सुपरलिगः बुटवल राइनोजद्वारा गोलपार्क ३ विकेटले पराजित

प्रकाशित मिति:

प्रकाश न्यौपाने-भैरहवा, मंसिर  । रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा डिभिजन ‘बी’को सोमबारको खेलमा बुटवल राइनोजले गोलपार्क क्रिकेट क्लबलाई पराजित गर्दै जित हात पारेको छ । बुटवलले गोलपार्कलाई ३ विकेटले पराजित गरेको हो ।भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा जारी प्रतियोगितामा जितका लागि पाएको १ सय १२० रनको लक्ष्य बुटवल राइनोजले २४ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि नितिन त्रिपाठीले अविजित ४१, विपिनविक्रम शाहीले २७, सलाउद्दिन खानले १८ र शिव कुँवरले १५ रनको योगदान गरे । बलिङमा गोलपार्कका दिवान पुनले ४, सुमित गुरुङ, प्रदीप भण्डारी र रिक्की पुनले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गोलपार्कले निर्धारित ५० ओभरमा ३९ ओभर १ बल खेल्दै १ सय १९ रनमा अलआउट भयो । उसलाई न्युन योगफलमा रोक्न बुटवल राइनोजका शिव कुँवर, सुप्रिम कँडेल र विपिनविक्रम शाहीले २–२ तथा सुरज सारु, विकाश साहु, इमरान शेखले समान १–१ विकेट लिन सफल भए । गोलपार्कका आदित्य बन्जाडे र शिवकुमार मौर्यले समान २० रन बनाउँदा आषिश लोहनीले १८, प्रदीप भण्डारीले १५ तथा दिवान पुनले १४ रन बनाए । विपिनविक्रम शाही प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए । सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।