भैरहवा, मंसिर ।लुम्बिनी शाक्यन क्लबलाई पराजित गर्दै भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामामा प्रोफेसनल मास्टर्स–११ ले जित निकालेको छ । डिभिजन ‘बी’ अन्तर्गत मंगलबारको खेलमा प्रोफेसनलले लुम्बिनी शाक्यनमाथि ३० रनको जित निकाल्न सफल भएको हो ।सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रोफेसनल मास्टर्सले मौसमका कारण ४५ ओभरमा छोट्याइएको खेलमा ४० ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ३६ रनको मध्यमस्तरको योगफल खडा गर्यो । उसका लागि अजय रसाइलीले २३, ड्रस सुनारले १९, मोहम्मद हुसेनले १५, तुसार चौहानले ११ र अजय यादवले अविजित १० रन जोडे । बलिङमा लुम्बिनी शाक्यनका बैतुल्लाह खान र अहम्मद खानले ३–३ तथा आकाश गिरी, रामायण साहनी, अजमत अली र प्रियान्सु बर्माले समान १–१ विकेट लिए ।
१ सय ३७ रनको लक्ष्यसहित ब्याटिङमा आएको लुम्बिनी शाक्यन २९ ओभर २ बलमा १ सय ६ रनमै अलआउट भयो । उसका लागि अब्दुल रबले ३९, अहम्मद खानले १७ र अजमत अलीले १० रन बनाए पनि अन्य ब्याटर नचल्दा टिमले मध्यमस्तरको लक्ष्य समेत भेट्टाउन नसक्दा पराजित हुन पुग्यो । लुम्बिनीलाई सस्तैमा रोक्न बलिङमा प्रोफेसनल मास्टर्सका कृष्ण पराजुलीले ७ ओभर २ बलमा १ मेर्डनसहित १५ रन खर्चेर महत्वपूर्ण ५ विकेट हात पारे । यस्तै, मोहम्मद हुसेनले २ तथा ड्रस सुनार, करण केवट र तुसार चौहानले समान १–१ विकेट लिए । खेलमा कृष्ण पराजुली प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।