डा.बालकृष्ण चापागाईं- बौद्ध धर्मदर्शनका महत्वपूर्ण आधारका रुपमा चार आर्यसत्यसंगै आर्य अष्टाङ्ग मार्गलाई लिने गरिन्छ । दुःखबाट मुक्तिका लागि आर्य अष्टाङ्गिक मार्गका रुपमा सही दृष्टि, सही सङ्कल्प, सही वाचा, सही काम, सही जीविका, सही प्रयत्न, सही चेत, सही समाधिलाई मुख्य आधार मानिन्छ । चार आर्यसत्य तथा अष्टाङ्ग मार्ग गौतमबुद्धले पत्ता लगाएका मुक्तिमार्ग हुन् । यसैका आधारमा उनका विचारले विश्वभर व्यापकता पाएको छ । सतत् सचेतन अवस्था यसको आधारशिला हो ।
१. सम्यक् दृष्टि
निर्वाण प्राप्त गर्न सम्यक् दृष्टि पहिलो खुट्किलो हो । सम्यक् दृष्टिले अरू प्राणीप्रतिको मिथ्यादृष्टि अन्त्य गरी यथार्थ दृष्टि जागृत गर्छ । अविद्याका कारणले हाम्रो दृष्टिमा भ्रम परिरहेको हुन्छ । त्यसैको परिणामस्वरूप हामीले अनित्यलाई नित्य, असत्यलाई सत्य, अनात्मालाई आत्मा, सुखलाई दुःख तथा दुःखलाई सुख मान्न पुग्दछौं । सम्यक् दृष्टिद्वारा यी सम्पूर्ण भ्रम निवारण भई यथार्थ स्वरूपको ज्ञान प्राप्त गर्न सकिन्छ । आर्यसत्यको सम्यक् ज्ञान नै सम्यक् दृष्टि हो । शाक्यमुनिद्वारा अत्याधिक व्यवहृत शब्द ‘सम्मादिट्ठि’ हो ।
२. सम्यक् सङ्कल्प
सङ्कल्प वा दृढ इच्छाशक्ति नै सम्यक् निर्णयको आधार अर्थात् सम्यक् चरित्र मानिन्छ । निर्वाण प्राप्त गर्न निष्कामना, अद्रोहका साथै अहिंसाको दृढ सङ्कल्प आवश्यक हुन्छ । कुनै पनि कुराको कामना हुनु नै समग्र दुःखका कारण बन्न पुग्दछ । बोधिसत्वद्वारा सम्पूर्ण कामनाहरूको निवारण गर्नका लागि सम्यक् सङ्कल्प अत्यावश्यक हुन्छ । यस प्रकार शुभ कर्म गर्न र अशुभ कर्म परित्याग गर्न सम्यक् सङ्कल्प लिनुपर्दछ ।
३. सम्यक् वचन
अनुचित वचन परित्याग गरी उचित वचनको प्रयोग गर्नु नै सम्यक् वचन हो । मिथ्या भाषण, परनिन्दा, कटु भाषण, तथा वाचालता यी चार वचन निराकरण गर्न आवश्यक हुन्छ । सधै कल्याणकारी भाषा प्रयोग गरी मितभाषी हुनु पर्छ । यसो गर्दा वचन शुद्ध हुन्छ ।
४. सम्यक् कर्मान्त
निर्वाण प्राप्त गर्न चाहनेहरूले सम्यक् कर्म गर्नुपर्छ । कुकर्मको परित्याग र सुकर्म अवलम्बन गर्नु सम्यक् कर्म हो । प्राणी–हिंसा, व्यभिचार, कपट, चोरी आदि कुकर्महरू त्याग गर्नुपर्छ । यसले व्यावहारिक जीवन पनि पवित्र बन्छ ।
५. सम्यक् आजीविका
जीविकोपार्जन गर्न छल, प्रपञ्च, धोकाजस्ता निषिद्ध कर्म रोक्नुपर्छ । जीवन–निर्वाहको लागि अनुचित आजीविकाका उपाय परित्याग र उचित आजीविकाका उपाय अवलम्बन गर्नुपर्छ । शस्त्रव्यापार, प्राणीव्यापार, मांस–मद्य–विष–व्यापारजस्ता निषिद्ध व्यापारको परित्यागका साथै चोरी, ठगी, विश्वासघाती प्रवृत्ति आदि परित्याग गरी उचित आजीविका निर्वाह गनुपर्छ ।
६. सम्यक् व्यायाम
सत्कर्मको लागि सही प्रयत्न अथवा सुन्दर उद्योगको नाम नै सम्यक् व्यायाम हो । सत्कर्म सम्पादनको लागि उचित भावनाको निरन्तर प्रयत्न गरिरहनुपर्छ । इन्द्रिय नियन्त्रण, खराव भावनाको निवारण, परहित आदि सम्यक् भावनाका लागि सधै प्रयत्नशील चित्त आवश्यक हुन्छ । यसमा पाँच उपाय रहेका छन् । १। कुत्सित भावना समूल नष्ट गर्नु, २। नयाँ कुविचारलाई चित्तमा स्थान नदिनु, ३। सद्िवचारतर्फ चित्तलाई प्रेरित गर्नु, ४। सधै सद्विचारका लागि प्रयत्नशील हुनु ५। मन र चित्तको नियन्त्रण गर्नु नै सम्यक् व्यायाम हुन् ।
७. सम्यक् स्मृति
समुचित कुराको स्मरणका साथै पञ्चस्कन्ध, पञ्चेन्द्रिय तथा चार आर्य सत्यको सधै अनुसरण गर्नु नै सम्यक् स्मृति हो । काय, वेदना, चित्त र धर्मको वास्तविक स्वरूपलाई जान्न स्मृति आवश्यक पर्छ । मनुष्यको शरीर पञ्चभौतिक तथा त्यसभित्र मलमूत्र आदि अपवित्र वस्तुको सम्योगद्वारा निर्मित भएकाले नाशवान् छ भन्ने कुराको स्मृति रहनुपर्छ ।
८. सम्यक् समाधि
गौतम बुद्धले चित्तको शून्यता तथा पूर्ण जाग्रत अवस्थालाई समाधि भनेका छन् । विषयको दृष्टिले चित्त जब शून्य हुन्छ र विषयीका दृष्टिले चित्त जब पूर्ण जाग्रत हुन्छ, तव समाधि प्राप्त हुन्छ । समाधिद्वारा मनुष्य जीवन रूपान्तरित हुन्छ । यसैबाट अज्ञानीलाई ज्ञान, अन्धालाई आँखा र बहिरालाई कान प्राप्त हुन्छ । समाधिबाट अनिर्वचनीय आनन्दको अनुभव हुन्छ । समाधिबाट नै वास्तविक जीवनको सुरुआत पनि हुन्छ । बुद्धका यी अष्टाङ्गिक मार्गमा सबैखाले अतिवादको निषेध गरेको छ र मध्यमार्गी बाटो पक्रेको छ ।
आर्य अष्टाङ्गिक मार्ग सबै दुःखबाट मुक्त हुने र वास्तविक सुख–शान्ति प्राप्त गर्ने बाटो हो । यसको पालनाले वर्तमान जीवनमै निर्वाणको साक्षात्कार गर्न सकिन्छ । सबै अवस्थाहरू पहिला मनमा उत्पन्न हुने भएकाले अष्टाङ्गिक मार्गमा मनलाई वशमा राख्नमा र निर्मल बनाउनमा बढी जोड दिइएको छ । बुद्धले यी चार आर्य–सत्यलाई राम्रोसँग चिन्तन–मनन पनि गरे । त्यसपछि यसको व्यावहारिक पक्षलाई पूरा प्रयोग गरी यथार्थमा नितान्त दुःख–निरोध रूपी निर्वाणलाई स्वयं साक्षात्कार पनि गरे । बुद्धका अष्टाङ्गिक मार्गमध्ये सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वचन र सम्यक् स्मृति सञ्चारसंग बढी सम्बन्धित छन् । बुद्धका चार आर्यसत्य र अष्टाङ्गिक मार्गले जीवन र जगतको अर्थबोध गराएका छन् । बौद्ध अध्येता विमल बहादुर शाक्यले ‘बौद्ध दर्शन र सञ्चारको महत्व बारे सोधिएको प्रश्नको प्रति–उत्तरमा अष्टाङ्ग मार्गको व्यवहारिक कार्यान्वयन हुँदा विश्वकल्याण हुनुकासाथै मानव समाजमा शान्ति स्थापना हुन सक्छ भन्ने वैज्ञानिक आधार रहेको’ बताएका छन् । भवतु सब्ब मंगलम् ।