स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकाले किसानलाई जैविक मल बनाउने तालिम प्रदान गरेको छ । पुतलीबजार नगरपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत किसानलाई मौसमी÷बेमौसमी तरकारी खेती तथा जैविक विषादी सम्बन्धी तीन दिने तालिम प्रदान गरेको हो । पुतलीबजारमा अर्गानीक तरकारी उत्पादन गर्ने उदेश्य राखेर नगरपालिकाले जैविक मल सहिहत मौसमी तथा बेमौसमी तालिम दिएको जनाएको छ । नगरपालिकाका १४ ओटै वडाहरुबाट प्रतिनिधित्व गर्नेगरी ३२ जना किसानलाई उक्त तालिम प्रदान गरिएको कृषि शाखाका प्राविधिक सहायक सुवास ढकालले बताए । किसानहरुलाई सैद्धान्तिक तथा प्रयोगात्मक हुनेगरी तालिक प्रदान गरिएको ढकालले बताए । तरकारी उत्पादन बढाउने नाममा रासायनिक मलको प्रयोग बढ्न थालेपछि नगरपालिकाले जैविक बिषादी बनाउने तालिम प्रदान गरिएको नगरपालिकाले जनाएको छ । घरगोठमा उत्पादन हुने फोहोरलाई जैविक विषादी मल बनाउन प्रयोगतात्मक रुपले किसानलाई तालिम दिइएको थियो ।
नगरपालिकालाई अर्गानीक उत्पादन खेतीका रुपमा चिनाउन खोजेको पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले बताए । तरकारी उत्पादनमा बिषादीको प्रयोग बढ्दो छ नगर प्रमुख रेग्मीले भने,‘बिषादी तरकारीका कारण मानव शरिरमा विभिन्न खालका रोगहरु देखा परेका छन् ।’ क्यान्सर, मुटु रोग सम्वन्धी समस्या लगायतका रोगहरु बिषादी तरकारीकै कारण भएको थाहा पाएपछि अव नगरको उत्पादन अर्गानिक हुनुपर्छ भन्ने हाम्रो जोड हो उनले भने । धेरै उत्पादन हुन्छ भन्ने मान्यताले तरकारीमा धेरै बिषादीको प्रयोग हुँदा मानव स्वास्थ्यमा नराम्रो असर परेकोले अब सबैले जैविक बिषादी मलको प्रयोग बढाउन नगर प्रमुख रेग्मीले आग्रह गरे ।तीनदिन सम्म चलेको तालिमको कृषि ज्ञान केन्द्र बागवानी विकास अधिकृत विकास बि.क., नगरपालिकाका कृषि शाखाका प्राविधिक सुबास ढकाल, नविन केसी र कमला जैसीले सहजिकरण गरेका थिए । तालिमले हामीलाई मौसमी र बेमौसमी तरकारी उत्पादन सगै जैविक मल कसरी बनाउने भन्ने बिषयमा जानकारी मिलेको तालिममा सहभागी किसानहरुले बताएका थिए । अब आ—आफ्ना वडामा प्रशिक्षकको भुमिका निर्वाह गरी सबै वडाहरुमा अर्गानिक तरकारी उत्पादनमा जोड दिने प्रतिवद्धता उनीहरुको थियो ।नगरपालिकाका उपप्रमुख देवी अर्याल, आर्थिक विकास समिति संयोजक तथा नगर प्रवक्ता मनोज पौडेल, प्रमुख प्रशासकीयक अधिकृत धर्मराज ढुङ्गाना लगायतले यो कार्यक्रमलाई प्रभावकारी बनाउन नगरवासीको सहयोगको अपेक्षा गरेका थिए । स्वास्थ नागरिक बनाउन र बन्न सबैले बिषादीयुक्त बस्तु विस्थापित गर्नुपर्ने धारणा उनीहरुको थियो । तालिमले किसानहरुलाई आधुनिक तरकारी खेती र जैविक विषादीको प्रयोगसम्वन्धी महत्वपुर्ण ज्ञान, सिप प्रदान गरेको विश्वास नगरपालिकाले लिएको जनाएको छ ।