मिडियाको प्रभाव- शिक्षक सरुवामा बल्ल निर्देशिका खोज्दै वालिङ

प्रकाशित मिति:

(वालिङ) स्याङ्जा-शिक्षक सरुवाको बिषयमा विवादमा परेको वालिङ नगरपालिकाले बल्ल शिक्षक सरुवा निर्देशिका अनुसार काम गर्न थालेको छ । मिडियाले कानुन विपरीत शिक्षक सरुवा भन्ने शिर्षकमा समाचार प्रकाशित गरेपछि वालिङ नगरपालिकाले शिक्षक सरुवा निर्देशिका अनुसार काम गर्न थालेको हो । यसअघि पहुँचका आधारमा शिक्षक सरुवा गर्ने र पहुँचका आधारमा शिक्षक नियुक्ति गर्ने प्रचलन वालिङ नगरपालिकामा रहेको थियो । शिक्षक सरुवा निर्देशिका वालिङ नगरपालिकाले अवलम्वन गर्न थालेपछि पहुँच नभएका शिक्षकका लागि यो विधि र प्रक्रियाले फाइदा पुगेको छ । गत असोजमा वालिङ नगर शिक्षा समितिले विधि र कानुन विपरीत यहाँको रणविर जनहित मावि र महेन्द्र माविका दुई शिक्षकको दरवन्दी मिलानको नाममा सरुवा गरेको थियो । कानुन मिचेर सरुवा गरिएको भन्दै रणविर जनहित माध्यमिक विद्यालयका बहुमत विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले सरुवा बदर गर्न नगरपालिकामा निवेदन दिएका थिए । अभिभावकको अनुरोधलाई नगरपालिकाले सुनुवाई नगरेपछि न्याय माग्दै अभिभावकहरु उच्च अदालतको ढोकामा पुग्न बाध्य भएका थिए । शिक्षक सरुवाको बिषय न्यायलयमा पुगेपछि बल्ल वालिङ नगरपालिकाको शिक्षा शाखाले शिक्षक सरुवा निर्देशिकाको पूर्ण रुपमा अवलम्बन गर्न थालेको देखिन्छ ।

अहिले वालिङ नगरपालिकाको वेभसाइड र फेसबुक पेजमा रिक्त पदमा स्थायी शिक्षक सम्वन्धी सरुवा पत्र देखिन थालेका छन् । यो शिक्षक सरुवा सम्वन्धी पत्र देखिनुले नगरपालिकाले शिक्षक सरुवा निर्देशिका अवलम्वन गर्न थालेछ भनेर प्रष्ट भन्न सकिने शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले बताए ।अहिले वालिङ्मा धमाधम शिक्षक सरुवाका नोटिसहरु आइरहेका छन् शिक्षा समन्वय अधिकारी आचार्यले भने, ‘शिक्षक सरुवा प्रणालीमा विश्वासयोग्य काम भएको छ ।’ यो विधि र प्रक्रिया अबलम्वन गर्दा कुनै शिक्षकले सरुवाका लागि कसैको ढोका कुर्नुपर्दैन र न्यायोचित तवरबाट कार्यसम्पादन हुनेछ, आचार्यले भने । शिक्षक सरुवा निर्देशिका अनुसार चल्ने हो भने कुनै शिक्षकले सरुवामा दुख नपाउने आचार्यको भनाई छ ।

वालिङ नगरपालिकाले शिक्षक सरुवाको विवाद न्यायलयमा पुगेपछि पहिलो पटक कार्तिक २५ गते वालिङ ९ भुम्रे माविका लागि रिक्त रहेको प्राथमिक तहको स्थायी शिक्षक सरुवा सम्वन्धी सूचना प्रकाशित गरेको थियो । डेढ महिनाको अवधीमा वालिङमा रिक्त रहेका ४ शिक्षकको बिषयमा क्रमश नगरपालिकाले शिक्षक सरुवा निर्देशिका अनुसार सूचना प्रकाशन गरेको देखिन्छ । जसमा मंसिर ६ गते वालिङ १३ को सरस्वती माविका लागि निमावि तहको स्थायी विज्ञान शिक्षक, मंसिर ९ गते वालिङ ७ गुहेश्वरी आधारभुत विद्यालयका लागि प्रावि स्थायी शिक्षक र मंसिर ११ गते वालिङ ७ कै बालतपस आधारभुत विद्यालयका लागि प्रावि स्थायी शिक्षक सरुवाका लागि सूचना प्रकाशन गरेको छ ।
धमाधम शिक्षक सरुवा सम्वन्धी सूचना सार्वजनिक गर्न थालेपछि वालिङ नगरपालिका अब कानुनको बाटोमा जान लागेको प्रष्ट भएको छ । शिक्षक सरुवाको विवाद न्यायलयमा नपुगेको भए विद्यालय र नगरपालिका मिलेर करारमा शिक्षक नियुक्ति गर्न सक्ने थिए । बाहिरी जिल्ला वा अन्य पालिकामा सेवा दिदै आएका वालिङवासी शिक्षकले नगरभित्र आउने मौका पाउने थिएनन् । अब शिक्षक सरुवा निर्देशिका बमोजिम काम गर्न थालेपछि त्यस्ता शिक्षकहरुलाई यो प्रणालीले फाइदा पुग्ने देखिन्छ । यस्ता गृहकार्यले आफुलाई शिक्षकका नेता भन्नेहरु पनि नियमानुसार काम गर्न बाध्य हुनेछन् ।

शिक्षकका नेताकै कारण पहुँच नपुगेका धेरै शिक्षकहरु आफ्नै जिल्ला र आफ्नै पालिकामा आउन बन्चित भएका थिए । शिक्षकहरु सरुवामा कसैको ढोका ढक्ढक्याउन र चाकडी गर्न नपरोस भनेर नेपाल सरकारको शिक्षा मन्त्रालयले शिक्षक सरुवा निर्देशिका बनाएको छ । उक्त निर्देशिकाले अत्यन्तै सजिलो बाटो हुनेगरी सरुवाको नियम बनाइदिएको छ । तर कानुन कार्यान्वयन गर्ने निकायका अधिकारीहरु नै शिक्षकका नेताहरुको छायाँमा पर्दा पहुँच नपुगेका शिक्षकहरु सरुवा हुनबाट बन्चित हुदै आएका छन् ।यो प्रणालीलाई लागु गर्दा वालिङ नगरपालिका भन्दा बाहिर रहेका शिक्षकहरुले आफ्नै घरदैलोमा काम गर्ने अवसर पाउने वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए । कानुन अनुसार सबैले काम गर्ने हो भने कसैले दुख नपाउने उनले बताए । जिल्लाका ११ ओटा पालिकाले शिक्षक सरुवा निर्देशिका अनुसार काम नगरि कहिलेकाही बेइमानी गर्दै आएको देखिएको छ ।

थप समाचार