भैरहवा २ पुस । गृहमन्त्री रमेश लेखकले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न लुम्बिनी प्रदेशका सुरक्षा निकायलाई निर्देशन दिएका छन् । मंगलबार भैरहवामा आयाेजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सिमानामा भइरहेका अपराध, तस्करी, राजस्व चुहावट तुरून्त नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।नेपाल सरकार गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा भएको प्रदेश स्तरीय सुरक्षा गाेष्ठीलाई सम्बाेधन गर्दै उनलेे भने- ‘क्रस बोर्डर अपराध भइरहेको छ, तस्करी मौलाएकोले र राजस्व चुहावट भइरहेको सुनिएको छ’ गोष्ठी सकिएपछि यस्तो गुनासो सुन्न नपरोस् ।’
उनले पछिल्लो समय बित्तीय अपराध साइबर क्राइम बढेको बताउँदै त्यसलाई नियन्त्रण गर्न निर्देशन दिए । संविधानको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति सुरक्षा पहिलो सर्त भएको भन्दै गृहमन्त्री लेखकले शान्ति सुरक्षा मजबुद बनाउनुपर्नेमा जाेड दिए । उनले शान्ति सुरक्षा खलबलिने वित्तिकै जनताका मौलिक हकहरू गुम्ने भएकाले लोकतन्त्रको पूर्वशर्त नै शान्तिसुरक्षा रहेको बताए । संविधानको सही कार्यान्वयनका लागि शान्ति सुरक्षा नै प्रमुख सवाल हुने भएकाले यसतर्फ ध्यान दिन आग्रह गर्दै उनलेे सुशासन, विकास र समृद्विका लागि पनि शान्ति सुरक्षा अनिवार्य शर्त रहेको बताए । लुम्बिनी प्रदेश गौतमबुद्वको जन्मस्थल रहेकाले शान्ति सुरक्षा पूर्ण सुरक्षित बनाउनुपर्ने बताए । उनले गोष्ठी विभिन्न प्रदेश हुँदै लुम्बिनीमा गरिएको बताउँदै परिणाममुखी बनाउन आग्रह गरे । यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले दिएको अधिकार प्रदेशमा प्रत्योजन नगर्दा समस्या भएको भन्दै प्रहरी समायोजन,संघीय निजामती ऐन र शिक्षा ऐन ल्याउन अब ढिला गर्न नहुने बताए ।