एकता बचत तथा ऋण सहकारी संस्थामा शेयर सदस्य मध्येबाट जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । संस्थाको शनिबार बुटवलमा सम्पन्न २७ औं वार्षिक साधारण सभामा १४ जना जेष्ठ शेयर सेदस्यहरुलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।७५ वर्ष उमेर पुरा भएका संस्थाका शेयर सदस्यहरुलाई नदोहोरिनेगरी सम्मान गर्ने नीति अनुसार रिसरा थापा, गंगा पौडेल, पदमलाल शाक्य, जीवलाल गैरे, मालती वञ्जाडे, गुप्तीकुमारी पौडेल, पूर्णकला कार्की, हरिप्रसाद बलाल थापा, धनिराम पोखरेल, नगेन्द्र गोविन्द श्रेष्ठ, नरबहादुर खड्का, राजेन्द्रप्रसाद शर्मा, श्रीप्रसाद शर्मा र नरध्वज गुरुङलाई सम्मान गरिएको हो ।त्यसैगरी शेयर सदस्यका छोराछोरीबाट कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने दुई जनालाई नगद सहित सम्मान गरिएको छ । संस्थाले सामुदायिक विद्यालयमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्य बलदेव शर्माका छोरा राजेन्द्रप्रसाद शर्मा पौडेल र संस्थागत विद्यालयमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्य लिलाधर लुईटेलका छोरा देवी लुईटेललाई नगद पुरस्कार सहित सम्मान गरिएको संस्थाकी सहसचिव तारा गौतम पौडेलले जानकारी गराउनु भयो ।
त्यसैगरी असल ऋणीको रुपमा मणीराम भण्डारी र असल बचतकर्ताको रुपमा तारा गौतम पौडेललाई सम्मान गरिएको छ । उनीहरुलाई संस्थाकी अध्यक्ष सावित्रा टण्डनले दोसल्ला, खादा ओढाएर सम्मान गर्नुभएको थियो ।त्यस अवसरमा बोल्दै संस्थाकी अध्यक्ष टण्डनले सहकारीमा वचतको अवस्था, ऋण लगानी र असुलीको सबै अवस्था राम्रो भएको बताउँदै अन्य सहकारीमा देखिएको समस्याले एकतामा आत्तिनुपर्ने अवस्था नरहेको जानकारी गराउनु भयो । उहाँले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारी अवस्था र भावी योजनाका बारेमा जानकारी गराउँदै भावी कार्यक्रमको प्रस्ताव पेश गर्नुभएको थियो ।संस्थाकी अध्यक्ष सावित्रा टण्डनले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष बालकृष्ण खरेलले प्रस्तुत गर्नुभएको कोषाध्यक्षको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक सुधिर पराजुलीले प्रस्तुत गर्नुभएको लेखा समितिको प्रतिवेदन पारित गर्दै प्रस्तावित कार्यक्रम समेत साधारण सभाले अनुमोदन गरेको छ ।त्यस अवसरमा संस्थाका उपाध्यक्ष लोकहरी पाण्डे, परामर्शदाताहरु निमानन्द गैरे, नवराज श्रेष्ठ, कृष्णप्रसाद चौहान, पूर्वअध्यक्ष कौषलेश्वर पौडेल, शेयर सदस्य बसन्त श्रेष्ठ लगायतले भनाई राख्नुभएको थियो ।