औद्योगिक व्यापार मेला : विद्यालय स्तरीय लोकनृत्यमा अक्सफोर्ड प्रथम

प्रकाशित मिति:

बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा आयोजना गरिएको विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा अक्सफोर्ड माध्यमिक विद्यालय प्रथम भएको छ । त्यसैगरी एभरेष्ट बोर्डिङ द्वितीय, इन्टलेक्च्यूअल एकेडेमी तृतीय र कान्ति माध्यमिक विद्यालय सान्त्वना भएका छन् ।
प्रतियोगितामा प्रथम भएको अक्सफोर्डलाई २५ हजार, द्वितीय हुने एभरेष्टलाई १५ हजार, तृतीय हुने इन्टलेक्च्यूअललाई १० हजार र सान्त्वना हुने कान्तिलाई ५ हजार रुपैया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ । मेलामा शनिबार लोक तथा दोहोरी गायिका शान्तिश्री परियार, लोक तथा दोहोरी गायिका शान्ति श्री परियार, दामोदर बस्याल, शिलु भट्टराई, योगराज पोखरेल, गणेश अधिकारी, हास्य कलाकार कमल भट्टराई र विजय बमरेल तथा डान्सर निष्ठा पुन र मनिसा बस्यालको प्रस्तुती रहेको सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी गराउनु भयो । त्यस्तै खुला लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल लगायतका प्रतियोगिता भएका छन् ।
मेलामा भोली ९आईतबार० गायक राजनराज सिवाकोटी, लोक तथा दोहोरी गायक वैकुण्ठ महत, विष्ण श्रीपाली, लोकेन्द्र सापकोटा, मिसन भुसाल, हास्य कलाकार विष्णुजी पाण्डे, डान्सर साहिर केसी लगायतका कलाकारहरुको प्रस्तुती रहनेछ । त्यस्तै खुल्ला लोक दोहोरी प्रतियोगिता र डान्स च्याम्स अफ बुटवल हुनेछ ।

बुटवल मेलामा पहिलो अभ्यास –  अग्नी सुरक्षासहित विपद प्रतिकार्य तैनाथ- लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारासहित बुटवलमा यही पौष ३ गतेदेखि सञ्चालित औद्योगिक व्यापार मेलामा यस क्षेत्रमै पहिलो पटक अग्नी सुरक्षा व्यवस्थाको प्रयोग गरिएको छ । मेलास्थलमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरण, रोकथाम, उद्धार तथा सुरक्षा व्यवस्थालाई भरपर्दो बनाउनका लागि अग्नी सुरक्षा प्रविधि तथा उपकरणहरु राखिएको हो ।बुटवल उद्योग वाणिज्य संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी मेलामा सम्भवतः नेपालमै पहिलो अभ्यासको रुपमा अग्नी नियन्त्रणका सामग्री तथा सुरक्षा व्यवस्था गरिएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले बताउनु भयो ।बुटवल उद्योग वाणीज्य संघका कार्यसमिति सदस्य तथा मेलामा स्वागतद्वार, स्टेज उपसमितिका संयोजक कृष्ण पाण्डेले मेलामा स्टल तथा दर्शकको समेत सुरक्षालाई ध्यानमा राखेर नयाँ अभ्यास गरिएको बताउनु भयो । विकसित मुलुकका मेला महोत्सव वा भिडभाड हुने स्थानहरुमा अग्नी तथा विपद्सँग सम्बन्धि सुरक्षाको पूर्वतयारी अनिवार्य भएपनि नेपालमा त्यति ध्यान दिईएको पाईँदैन ।

बुटवलको फिस्टेल सेफ्टी सोलुशनसँग सम्झौता गरेर मेलास्थलका विभिन्न १८ स्थानमा फायर फाइटिङ सामग्री, २ ठाउँमा फायर फाइटिङ तथा विपदमा उद्धारका सामग्री राखिएको छ । अग्नी सुरक्षा तथा विपदमा उद्धारका लागि आवश्यक पर्ने सामग्रीहरु इलेक्ट्रिक तथा हाते साइरन, माइकदेखि आवश्यक सम्पूर्ण सामग्रीको व्यवस्था गरिएको फिस्टेल सेफ्टी सोलुशनका सञ्चालक प्रदिप आचार्यले बताउनु भयो ।
उहाँका अनुसार विपद आउनुभन्दा पहिले नै पूर्व तयारी गर्न सकेमा सम्भावित दुर्घटनामा ठूलो क्षतिलाई रोक्न सकिन्छ । विपद सुरक्षा बारे जानकारी गराउने उद्देश्यले पनि मेलास्थलमा फायर फाईटर राखिएको उहाँले बताउनु भयो । बुटवलको होराइजन चोकमा शो–रुम सञ्चालन गरी विपद प्रतिकार्यका सामग्रीहरु बिक्री गर्दै आएको फिस्टेल सेफ्टी सोलुशनले अन्य संघ–संस्थाहरुसँग पनि यसको सचेतनाका लागि सहकार्य गर्न तयार रहेको उहाँले बताउनु भयो ।मेलामा फायर फाइटिङ सामग्री र विपदमा उद्धारका सामग्री राखिएका ठाउँमा तालिम प्रदान गरिएका सुरक्षा कर्मी तैनाथी अवस्थामा राखिएको छ । यसले मेला स्थलमा स्टल र दर्शकको मात्रै नभएर समग्र सुरक्षा व्यवस्थालाई पनि सघाउ पर्याएको संघका कार्यसमिति सदस्य तथा सुरक्षा तथा पार्किङ व्यवस्थापन उपसमितिका संयोजक काशीराम पौडेलले बताउनु भयो ।
त्यसो त मेलामा प्रयाप्त मात्रामा सुरक्षा व्यवस्था मिलाईएको छ भने चारैतिर सिसिटिभि जडान गरि सुक्ष्म निगरानी गरिएको संयोजक पौडेलले बताउनु भयो । यसैगरी मेलास्थलमा कुनै दुर्घटना भइहालेमा प्राथमिक उपचार उपलब्ध गराउन हेल्थ डेस्क, आन्तरिक सञ्चारका लागि सञ्चार डेस्क लगायतका व्यवस्थाहरु गरिएको मेला सचिवालयले जनाएको छ ।

मेलाको टिकटमा केवलकारमा छुटदेखि निःशुल्क छाला जाँचसम्म-बुटवल मण्डपमा जारी औद्योगिक व्यापार मेलामा केबलकारको टिकटमा छुटदेखि निशुल्क छाला जाँचलगायतका छुट सुविधा उपलब्ध भएको छ । मेलाको टिकट लिएर जानेलाई लुम्बिनी केवल कारमा २५० रुपैयां छुट दिएको छ भने बुटवलको डर्मा सेन्टरले मेला स्थलमै निशुल्क छाला जाँच गरेको हो ।मेला अवलोकन गर्न लिएको टिकट सुरक्षित राखेर केबलकार चढ्न चाहेमा ७ सय ५० रुपैयां दरको टिकट पांच सय रुपैयांमा पाइने गरी मेला आयोजक बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी केबलकार लि।बीच सम्झौता भइसकेको छ । मेला अवलोकन गर्न सर्वसाधारणका लागि ७० रुपैंया र विद्यार्थीका लागि ५० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ ।मेलाको टिकट लिएर आउनेलाई मेला अवधि पुस १८ सम्म मात्र नभई पुस मसान्तसम्म छुट दिइने सम्झौता भएको केबलकारका अप्रेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिनुभयो । कम्पनीले आन्तरिक र वाह्य पर्यटकलाई विभिन्न अवसरमा टिकट दरमा छुट दिने नीति अनुसार बुटवलको औद्योगिक ब्यापार मेलाका दर्शकलाई पनि सहुलियत दिने उद्देश्य अनुसार यो अफर ल्याइएको उहाँले बताउनु भयो ।समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको केबलकारको टप स्टेशन बसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाईको केन्द्र बन्न पुगेको छ । केबलकारले औद्योगिक ब्यापार मेलामा पनि स्टल राखेको छ । मेलामा राखिएको स्टलबाट पनि केबलकारको टिकट लिन सकिने कम्पनीले जनाएको छ ।पुस ३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने मेलामा ५ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । दुई संस्थाबीचको सहमतिले महोत्सव अवलोकन गर्ने दर्शक केबलकार चढ्न चाहेमा सहुलियत भई लाभान्वित हुने संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताउनु भयो ।त्यस्तै बुटवल स्थित डर्मा स्टोर नेपाल प्रालिले मेलास्थलमै निशुल्क छाला जाँच तथा परामर्श सेवा उपलब्ध गराएको छ । मेलामा बुटवल आइडल र बुटवल डान्स च्पाम्प्स अफ बुटवलको प्रायोजन गरेको सो स्टोरको निःशुल्क छाला जाँचमा हालसम्म पाँच सय बढीले सेवा लिएको सञ्चालक प्रेमराज न्यौपानेले जानकारी दिनुभयो । सामाजिक उत्तरदायित्व अन्तर्गत मेलामा एनालाइजर मेसिन मार्फत छाला जाँच गर्नुका साथै समस्या देखिएकालाई बुटवलै सावित्री क्लिनिकमा बिशेषज्ञ डाक्टरबाट थप निशुल्क जाँच तथा परामर्श सेवा उपलब्ध गराइने सञ्चालक न्यौपानेले बताउनु भयो । उहाँका अनुसार मेलाको टिकट लिएर जानेलाई यो सेवा पुस महिनाभर उपलब्ध गराईने छ ।

थप समाचार