बुटवलमा मोटरसाइकलको स्वरूप परिवर्तन गरी चर्को आजाज निकाल्नेलाई १० हजार जरिवाना : एकैदिन ११ वटा मोटरसाइकल नियन्त्रणमा

प्रकाशित मिति:

बुटवल ।बुटवलमा माेटरसाइकलकाे स्वरूप परिवर्तन गरी चर्को आवाज निकालेर ध्वनी प्रदूषण गराउनेमाथि ट्राफिक प्रहरीले कारबाही अभियान सुरु गरेको छ ।लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले शुक्रबार पत्रकार सम्मेलन गरी माेटरसाइकलकाे स्वरूप परिवर्तन गरेर ध्वनी प्रदूषण गराउनेमाथि कारबाही अभियान चलाएको जानकारी गराएकाे हो ।स्थानीयकाे गुनासोपछि मोटरसाइकलको साइलेन्सर मोडिफाई (परिवर्तन) गरेर चर्को आवाजमा पड्काउँदै हिड्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्नुका साथै जारिवानाका लागि यातायात व्यवस्था कार्यालय पठाउने अभियान थालिएको ट्राफिक प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

चर्को आवाज निकालेर ध्वनी प्रदूषण गर्ने, सडकमा अन्य सवारीका साधनलाई समेत जोखिम हुनेगरी स्टण्टबाजी गर्ने, मोटरसाइकल तथा स्कुटरको स्वरुप परिवर्तन गर्ने कार्य नियन्त्रण गर्न त्यसमा संलग्नलाई कारबाही अभियान अघि बढाएकाे उनलेे बताए । हेलो सरकारमार्फत जनताले दिएको सूचना तथा गुनासा, सामाजिक सञ्जालहरुमा आएका भिडियो तथा पोष्टहरु लगायतका आधारमा त्यस्ता गतिविधिलाई नियन्त्रणमा लिएर कारबाही गरिएकाे उनको भनाइ छ ।ईलाका प्रहरी कार्यालय बुटवलसँगको सहकार्यमा ट्राफिक प्रहरी कार्यालयले विहिबार एकै दिनमा ११ वटा त्यस्ता मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । यसैगरी यसअघि विभिन्न समयमा नियन्त्रणमा ल्याएकासहित १७ वटा मोटरसाइकललाई जरिवानासहित कारबाही प्रक्रिया अघि बढेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । चालू आर्थिक वर्षमा ६१ वटा मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिएर जनही १० हजारका दरले जरिवाना गरी ६ लाख १० हजार राश्व संकलन गरेको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक व्यवस्थापन कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु सुधन न्यौपानेका अनुसार ट्राफिक प्रहरी कार्यालयको सिफारिसको आधारमा यातायात व्यवस्था कार्यालय बुटवलले कारबाहीमा परेका सवारीधनीबाट जरिवाना बापचको राजश्व उठाउँदै आएको छ ।

अघिल्लाे आर्थिक वर्षमा समेत बुटवल बजार क्षेत्रभित्रबाट मात्रै ६५ वटा मोटरसाइकल तथा स्कुटरलाई लियन्त्रणमा लिएर ६ लाख ५० हजार राश्व संकलन गर्न सफल भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीले बुटवल बजारमा मोटरसाइकल स्टण्ट गरी सामाजिक सञ्जालमा भिडियो अपलोड गरेका आधारमा ३ जनालाई नियन्त्रणमा लिई कारबाही गरेको प्रहरी उपरीक्षक खत्रीले बताए । अहिलेको कारबाही प्रक्रियालाई थप प्रभावकारी बनाउँदै लैजाने बताउँदै उनले स्वरुप परिवर्तन गरिएका सवारीबाट नियन्त्रणमा लिइएका साइलेन्सर लगायतबा बस्तुहरुलाई जफत गरेर राखिएको उल्लेख गरे ।अभियानलाई थप प्रभावकारी बनाउन अब स्वरुप परिवर्तन गर्ने वर्कसप तथा ग्यारेजहरुलाई समेत कारबाहीको दायरामा ल्याउने तयारी रहेको उनले बताए । सडकमा गरिने स्टण्टबाजी, स्वरुप परिवर्तन गरी ध्वनी प्रदूषण लगायका गतिविधिले शान्ति सुरक्षामा समेत खलल पुग्ने भएकोले ट्राफिक प्रहरीसँगकाे समन्वयमा त्यस्ता गतिविधि नियन्त्रण गर्ने अभियान चलाइने ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।