काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो । न्यायाधीश आदेशलाई अन्तिम रुप दिने क्रममा छन् । यसै बीचमा इजलास बाहिर आएका कर्मचारीले धरौटी आदेशबारे सूचना दिइरहेका छन् ।
यो आदेशपछि लामिछाने पक्षले जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाउने तयारी गरिरहेको छ । लामिछाने सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार मात्र छुटेका थिए । त्यसअघि उनी ८४ दिनदेखि प्रहरी हिरासतमा थिए । कास्की जिल्ला अदालतको आदेशपछि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने गरी परिवारको जिम्मा लगाएको थियो भने रवि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।