प्रकाश न्यौपाने
माघ ४ गते
नवलपरासी । विद्यालय खेलकुदको पहिलो पाठशाला भएको खेल युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बताउनुभएको छ। बर्दघाट १४ मा रहेको सरस्वती माध्यमिक विद्यालय को स्वर्ण जयन्तीलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री चौधरीले खेलकुदको विकासमा विद्यालयहरूको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।
खेलकुदको विकास बाल्यकालदेखि नै हुन जरुरी छ बाल्यकालमा बालबालिकाहरू विद्यालयमा हुने उल्लेख गर्दै मन्त्री चौधरीले भन्नुभयो – “खेलकुदका लागि पहिलो पाठशाला भनेको नै विद्यालय हो। जसमा अतिरिक्त क्रियाकलाप हुन्छ र विद्यालयहरूमा खेलकुदका लागि आवश्यक पर्ने फिल्डको पनि उचित व्यवस्था रहेका हुन्छन् ।”कार्यक्रमको सङ्घीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले भर्चुअल सम्बोधन मार्फत उद्घाटन गर्नु भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले शिक्षा उज्यालो ज्योति भएको उल्लेख गर्दै यस क्षेत्रको शैक्षिक विकासकालाई आफ्नो पूर्ण सहयोग रहने बताउनु भयो ।
बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले भौतिक विकासले मात्रै शैक्षिक गुणस्तर सुधार नहुने उल्लेख गर्दै विद्यालयलाई प्रविधिमैत्री बनाउनु पर्नेमा जोड दिनु भयो ।शिक्षकहरू पनि युग सुहाउँदो हुनु पर्ने बताउँदै उहाँले प्रविधिमा दखल नराख्ने शिक्षकहरूले बिदा लिनु पर्ने बताउनु भयो ।बर्दघाट नगरपालिकाले पछिल्लो समय प्रविधिमैत्री शिक्षालाई जोड दिएको उल्लेख गर्दै चालू आर्थिक वर्षमा आधारभूत र प्रावि तहका शिक्षकहरूलाई ल्यापटप बितरण गरिने जानकारी दिनु भयो ।
बर्दघाट नगरपालिका वडा नम्बर १४ का अध्यक्ष एवं नगर प्रवक्ता सन्त बहादुर गाह सरस्वती मा. वि.ले ५० औ वर्ष पार गरिरहँदा विधालयलाई यो अवस्थामा ल्याउन थुप्रै समाजसेवीहरूको अतुलनीय योगदान रहेको स्मरण गर्दै आफूहरू निर्वाचित भैसकेपछि भौतिक पूर्वाधार विकासले समेत गति लिएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा भूमि आयोग नवलपरासीका अध्यक्ष लालबहादुर गुरुङ, बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, नेकपा एमालेका जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, नगर शिक्षा समिति सदस्य विनोद खनाल लगायतले बोल्दै विद्यालयको स्वर्ण जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
स्वर्ण जयन्तीको उद्घाटन समारोहमा बोल्दै विद्यालय व्यवस्थापन समितका अध्यक्ष एवम् स्वर्ण जयन्ती मूल समारोह समितिका अध्यक्ष ध्रुबराज जमरकट्टेलले विद्यालयको स्थापनाकालदेखि सहयोग गर्ने, योगदान गर्ने महानुभावहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिनु भयो ।
कार्यक्रमको पूर्वसन्ध्यामा जनप्रतिनिधि, स्थानीय क्लब सङ्घ सस्था, बिद्यार्थी, शिक्षक, एवम् स्थानीयहरुको सहभागितामा कलशयात्रा समेत निकालिएको थियो ।