रुपन्देही,माघ १३ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना मा.वि. को ६६ औं वार्षिकोत्सवको अवसरमा आयोजित खेल सप्ताह अन्तरगत आइतबार विभिन्न प्रतियोगिता सम्पन्न भएका छन् ।
कक्षा ११–१२ र सिटिइभिटि अन्तरगत भलिवल, फुटवल, कपर्दी, हाइ जम्प, लङ्ग जम्प, टेवल टेनिस, सटपुट, ४०० मिटर दौड लगायतका खेलहरु सम्पन्न भएका छन् ।
यस्तै, कक्षा ६ देखि ९ का विद्यार्थीहरुको १०० मिटर र २०० मिटर दौड सम्पन्न भएका छन् । त्यसैगरी कबड्डी, लङग जम्प, टेवल टेनिस, कपर्दी, प्रतियोगिताहरु भएको अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेयले जानकारी दिनुभयो ।
यस्तै साहित्य सम्बन्धी कार्यक्रमतर्फ कक्षा ११–१२ मा सामाजिक सञ्जालको प्रयोग शीर्षकमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । जसमा ३६ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
यस्तै कक्षा ८ र ९ मा भएको वक्तृत्वकला प्रतियोगितामा अनुश्री शर्मा प्रथम, मेलिना घिमिरे द्वितीय, प्राप्ती अर्याल तृतीय र गृष्मा ज्ञवाली तृतीय भएको शिक्षक भीम भुसालले बताउनुभयो । नेत्रकुमारी अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन गीता पन्थीले गर्नुभएको थियो ।
यस्तै कक्षा ६ र ७ मा खुला कथा लेखन, कविता वाचन र वक्तृत्वकला प्रतियोगिता भएको छ । कविता प्रतियोगितामा अनिशा चापागाईं प्रथम, रिया ज्ञवाली द्वितीय, इशिका अर्याल तृतीया र अनुष्का भुसालले प्रोत्साहन स्थान प्राप्त गरेको शिक्षक गीता पौडेलले बताउनुभयो ।
वक्तृत्वकला प्रतियोगितामा एञ्जिला पाण्डे प्रथम , चेतना पाण्डे द्वितीय, प्रतिज्ञा गौतम तृतीय र कुञ्जन पौडेल तथा बिप्सना पाण्डेले प्रोत्साहन स्थान प्राप्त गरेका छन् ।
वार्षिकोत्सवको अवसरमा माघ १५ गते खाना महोत्सव तथा पुस्तक प्रदर्शनी, माघ १८ गते जिल्ला स्तरीय विज्ञान प्रदर्शनी, रक्तदान कार्यक्रम र पढाइ महोत्सव, माघ २० गते छात्रवृत्ति वितरण र माघ २१ गते वार्षिकोत्सवको मूल समारोहको कार्यक्रम हुनेछ । सो अवसरमा पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम समेत रहेको विद्यालयले जनाएको छ ।