शान्ति नमुनाको हाजिरी जवाफको उपाधि एभरेष्ट मा.वि.लाई

प्रकाशित मिति:

तिलोत्तमा, माघ १५ । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले मंगलबार जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरेको छ ।
रुपन्देही जिल्लाका ३० वटा विद्यालय सहभागी भएकोमा एभरेष्ट माध्यमिक विद्यालय प्रथम भएको छ । एभरेष्टले नगद रु.१२ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै द्वितीय भई न्यू होराइजन बोर्डिङ स्कुलले नगद रु.९ हजार, तृतीय भई कान्ति मा.वि.ले नगद रु ७ हजार र प्रोत्साहन स्थान प्राप्त गरेको सुनगाभा पब्लिक बोर्डिङ स्कुलले नगद रु. ४ हजार ५ सय, प्रमाणपत्र र मेडल प्राप्त गरेको प्रतियोगिताका संयोजक मोहन पौडेलले जानकारी दिनुभयो ।
यसअघि उद्घाटन कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख माधव प्रसाद बञ्जाडे, विद्यालयका सल्लाहकार टेक बहादुर थापा लगायतले बोल्दै विद्यार्थीको सृजनशिलता बढाउन र बौद्धिक स्तरलाई माथि उकास्न यस प्रकारका कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले जिल्लाभरका विद्यालयहरुबीच सद्भाव, सहकार्य र आत्मीयता अभिवृद्धि गर्ने उद्धेश्यले कार्यक्रम गरिएको भन्दै आगामी दिनमा अझ रचनात्मक कार्यक्रम गरिने जनाउनुभयो । कार्यक्रमको सञ्चालन शिक्षक दिनेश खड्का र रजनी के.सी.ले गर्नुभएको थियो ।
त्यस्तै मंगलबार खाना महोत्सव समेत आयोजना गरिएको थियो । कक्षा आठ , नौ , एघार , बाह्र र डिप्लोमा इन होटल म्यानेजमेन्टका विद्यार्थीहरूको सहभागितामा खाना महोत्सवको आयोजना गरिएको हो । विद्यार्थीहरूले आवश्यक सामग्रीहरूको व्यवस्थापन आफै गरेर खानाका विभिन्न परिकार बनाएको कार्यक्रम संयोजक पिंकी शर्माले जानकारी दिनुभयो । विद्यार्थीहरूले पास्ता , मम , फुल्की , चटपट , सेलरोटी , चुकौनी, अचार , ढिकरी , मन्चुरियन , पकौडा लगायतका परिकार बनाएका थिए । खाना महोत्सवमा ३० वटा स्टल राखेर परिकारको व्यवस्थापन गरिएको थियो ।
यसैबीच ६६ औं वार्षिकोत्सवको अवसरमा माघ १८ गते विद्यालयमा रक्तदान, पढाई महोत्सव, पुरस्कार वितरण कार्यक्रम गरिने भएको छ ।
वार्षिकोत्सवको मुल कार्यक्रम भने माघ २१ गते हुनेछ । वार्षिकोत्सवका अवसरमा छात्रवृत्ति , पुरस्कार वितरण एवम् सम्मानका कार्यक्रम, नानी मुखपत्रको विमोचन तथा सांस्कृतिक कार्यक्रम गरिने विद्यालयका सूचना संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।