पश्चिम नवलपरासीमा प्रहरीमाथि आक्रमण, गोली प्रहारमा लागुऔषध कारोबारी घाइते
प्रकाश न्यौपाने
माघ १८ गते
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२, पचगाँवामा लागुऔषध कारोबारी पक्राउ गर्न पुगेको प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले गोली चलाएको छ।
विशेष सूचनाका आधारमा लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरी टोली ५२ वर्षीय राजेश लोनियाको घरमा पुगेको थियो। सो क्रममा लोनियाले प्रहरीमाथि आक्रमण गर्दै पेस्तोल खोस्न खोजेपछि प्रहरीले आत्मरक्षार्थ ४ राउण्ड गोली फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
गोली प्रहारमा लोनियाको बायाँ साँप्रामा चोट लागेको छ। उनलाई उपचारका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा भर्ना गरिएको छ।
घटनास्थलबाट प्रहरीले ब्राउनसुगर जस्तो देखिने ९३ पुरिया धुलो पदार्थ बरामद गरेको छ। प्रहरीले संलग्न एक जना व्यक्ति भाग्न सफल भएको र उनको खोजी जारी रहेको जानकारी दिएको छ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले बताउनु भयो।