प्रकाश न्यौपाने
माघ २९ गते
नलपरासी । बर्दगढ नगरपालिकाद्वारा कृषकलाई १० लाख रुपैयाँ बराबरको कृषि सामग्री वितरण गरेको छ। नगरले कृषकहरूको उत्पादन क्षमतामा वृद्धि गर्न ५०% अनुदानमा मकैको बीउ तथा विभिन्न कृषि उपकरण वितरण गरेको छ।
बर्दघाट-१३ धनेवास्थित नवदुर्गा कृषक मूल समितिमा आयोजित कार्यक्रममा नगरपालिकाले मकैको बीउसहित विभिन्न आधुनिक उपकरण कृषकहरूलाई हस्तान्तरण गरेको हो । नगरले कृषकहरूलाई नौ लाख ९३ हजार ३ सय रुपैयाँ बराबरका कृषि सामग्री वितरण गरेको छ। जसमध्य नगरपालिकाले ४ लाख ९४ हजार ६ सय ५० रुपैयाँको लगानी गरेको छ भने कृषकहरूले ४ लाख ९८ हजार ६ सय ५० रुपैयाँ लगानी गरेका छन्।
मकैको बीउ ४ सय ५० केजी, चार्जर स्प्रेयर: ७ वटा, म्यानुअल स्प्रेयर: १२ वटा, ठेलागाडा: १५ वटा, सिडर: ३ वटा, पम्प सेट: ४ वटा, च्याप काटर: ४ वटा, मोटर: २ वटा, मिनी टेलर २ वटा सामाग्री वितरण गरिएको छ।
नगर प्रमुख शम्भुलाल श्रेष्ठले कृषिलाई आधुनिक बनाउन प्रविधिको उपयोग आवश्यक रहेको बताउनु भयो। “अब कृषि व्यवसाय व्यावसायिक रूपमा अघि बढाउनुपर्छ। निर्वाहमुखी खेतीले मात्रै कृषि व्यवसाय टिक्दैन,” उहाले भन्नु भयो। श्रेष्ठले वडा नं. १२ र १३ लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिएको बताउँदै कृषकहरूले नगरपालिकाले वितरण गरेका सामग्रीको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनु भयो। “पहिले एउटा काम पूरा गर्न दिनभर लाग्थ्यो, तर अहिले प्रविधिको प्रयोगले केही घण्टामै सकिन्छ,” एक कृषकले अनुभव भन्नु भयो ।
यसअघि पनि नगरपालिकाले कृषकहरूलाई आधुनिक उपकरण वितरण गर्दै आएको छ। नगरका कृषि समूहहरूसँग सहकार्य गरेर कृषिमा यान्त्रिकीकरणको प्रवर्द्धन गर्ने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ। कार्यक्रममार्फत कृषकहरूलाई आधुनिक उपकरणको प्रयोगमा अभ्यस्त गराई उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ ।