“हिउँदे अधिवेशनमा नै शिक्षा ऐन संसदमा पेश हुन्छ” सांसद भुसाल

प्रकाशित मिति:
प्रकाश न्यौपाने
फागुन १३ गते

नवलपरासी । संघीय सांसद तथा शिक्षा समितिकी सदस्य सरिता भुसालले शिक्षालाई संस्कार र संस्कृतिसँग जोड्नुपर्नेमा जोड दिनुभयो । संघीयतापछि तिनै तहको सरकार मिलेर शिक्षालाई संस्कार र संस्कृति जोडेर व्यावसायिकतातर्फ उन्मुख अहिलेको आवश्यकता रहेको बताउनुभएको हो।


बर्दघाट २ मा रहेको दिव्यज्योति माध्यमिक विद्यालयको ४८ औँ वार्षिक उत्सव तथा अभिभावक समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै  सांसद भुषालले नेपाली कला, संस्कृति र गुणस्तरीय शिक्षालाई प्रवर्द्धन गर्न नीति अनुरूपको शिक्षा विधेयक आवश्यकता रहेको उल्लेख गर्नुभयो। । “देशलाई आवश्यकता भए अनुसारको शिक्षा प्रदान गर्नेगरी शिक्षा विधेयकका विषयमा छलफल गरिरहेका छौं । हिउँदे अधिवेशनमा नि शिक्षा विधेयक पेश गर्ने तयारीमा छौँ।” भुसालले भन्नुभयो । स्थानीय प्रदेश र सङ्घीय गरी तिनै तहको सरकारले शिक्षालाई प्राथमिकीकरण गरी व्यवसायीकरणसँग जोड्नुपर्नेमा जोड दिनुभयो। अभिभावकलाई प्रशिक्षण दिने, र “पढ्दै, सिक्दै, कमाउँदै र रमाउँदै” शिक्षा प्रणाली भए व्यावहारिक हुने उहाँको भनाइ छ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्दै संविधान सभा सदस्य विक्रम खनालले शिक्षामा अभिभावक, शिक्षक र विद्यार्थीको त्रिकोणात्मक सहयोगलाई आधार बनाउनुपर्ने उल्लेख गर्नुभयो। उहाँले प्रविधिका कारण विश्व बजार नै एउटा गाउँ भएको उल्लेख गर्दै विश्वबजारसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिँदै, “शिक्षा मात्र होइन, संस्कार पनि सिकाउनु पर्छ” भन्ने विचार राख्नुभयो ।  शिक्षाका सरकारवाला निकायहरू एकै ठाउँमा बसेर मन्थन गरी दीर्घकालीन योजनाका साथ शिक्षा क्षेत्र अगाडि बढाउनुपर्ने खनालको भनाइ छ।


बर्दघाट नगरपालिकाका पूर्व नगरप्रमुख धीरज शर्मा बस्यालले नगरले सबै विद्यालयलाई समान रूपमा स्थानीय सरकारले हेर्नुपर्ने उल्लेख गर्नुभयो । स्थानीय सरकारले शिक्षा ऐन अनुसार विद्यालय हरूलाई हेर्ने दृष्टिकोण तयार गर्नुपर्ने बस्यालको भनाइ छ। नगरका सामाजिक विकास समिति संयोजक भिकमाजी गुरुङले शिक्षालाई प्राथमिकता दिँदै अगाडि बढेको बताउनुभयो। विद्यालयका प्रधानाध्यापक रमेश कुँवरले विद्यालयकाे प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले नगरमा अव्वल नतिजा प्राप्त गरेको दाबी गर्नुभयो । कार्यक्रममा पूर्वअध्यक्षहरू सुबोध बुढाथोकी, सदानन्द पाण्डे तथा शिक्षक अभिभावक संघका अध्यक्ष रेल बहादुर बुढाले शैक्षिक गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताउनुभयो।


कार्यक्रममा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, नाटक, लाखे नाच, र विभिन्न जातीय सांस्कृतिक नृत्व प्रस्तुत गरे। साथै, नेपाली, चिनियाँ र दक्षिण भारतीय खानाको “खाना महोत्सव” आयोजना गरी अतिथिहरूलाई सेवा गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनबन्धु पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा स्वागत मन्तव्य सहायक प्रधानाध्यापक कल्पना ज्ञवाली गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कृष्ण अधिकारी र शिव पौडेलले गर्नुभएको थियो।