प्रकाश न्यौपाने
फागुन १६
नवलपरासी । जल, जङ्गल र जमिनको संरक्षण गर्नु सबैको साझा दायित्व रहेको बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो।
बर्दघाट प्रेस क्लबको आयोजनामा सम्पन्न ‘वन एक अवसर अनेक’ विषयक संवाद गोष्ठीमा नगर प्रमुख श्रेष्ठले नगरभित्रको प्राकृतिक स्रोतसाधनको संरक्षणका लागि प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न नगरपालिकाले पहल गरिरहेको बताउनु भयो। उहाँले सामुदायिक वन समूहहरूसँग सहकार्य गर्दै वातावरणीय सन्तुलन कायम राख्न नगरपालिकाले निरन्तर काम गर्ने प्रतिबद्धता जनाउनु भयो।
गोष्ठी बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो कार्यक्रममा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय, विभिन्न वडाध्यक्षहरू, बर्दघाट सरावल सव-डिभिजन वन कार्यालयका प्रतिनिधि, वन तथा वातावरण गणका प्रमुख हरि बहादुर राई, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष, वैज्ञानिक वन उपभोक्ता महासंघका पदाधिकारी, नगरका सामुदायिक वन समूहका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा पत्रकार एवं वन, वातावरण विज्ञ युवराज कंडेलले सहजिकरण गर्नुभएको थियो। उहाँले डिभिजन वन कार्यालय नवलपरासीको २०७९/८० को प्रतिवेदन उद्धृत गर्दै बर्दघाट नगरपालिकामा ३,६९५ हेक्टर क्षेत्रफलमा सामुदायिक वन रहेको र यसमा १८,३८८ घरधुरी आबद्ध रहेको जानकारी गराउनु भयो।
त्यस्तै, बर्दघाट नगरबाट १९ वटा सामुदायिक वनहरू जिल्लामा दर्ता भई सञ्चालनमा रहेको तथ्याङ्क प्रस्तुत गर्दै कंडेलले वनबाट आम्दानी गर्ने परम्परागत पद्धति भन्दा पर्यटन प्रवद्र्धनमार्फत आम्दानी गर्ने नयाँ अवधारणा अपनाउनु आवश्यक रहेको सुझाव दिनुभयो।
बर्दघाट प्रेस क्लबका सदस्य मुक्तिनाथ तिवारीले स्वागत रहेको कार्यक्रमको सञ्चालन सचिव प्रकाश न्यौपानेले गर्नुभएको थियो।गोष्ठी बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो।