प्रकाश न्यौपाने
फाल्गुन २५ गते
नवलपरासी – बर्दघाट नगरपालिकाको आयोजनामा सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बर्दघाट नगरका नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरपालिकाले जनतालाई सुसूचित गरिरहेको उल्लेख गर्दै उपभोक्ताहरू नै सचेत भएर सुर्तीजन्य पदार्थको प्रयोग गर्न नहुनेमा जोड दिनु भयो। सकभर प्रयोग नै नगर्ने, गर्नेलाई पनि न्यूनतम प्रयोग गर्नमा जोड दिनु पर्ने श्रेष्ठकाे भनाइ छ ।
कार्यक्रमका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले राज्यले सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रणका लागि विभिन्न कानुनी व्यवस्थाहरू लागू गरिरहेको बताउनुभयो। उहाँका अनुसार करको दर वृद्धि, विज्ञापन प्रतिबन्ध, बिक्री वितरणमा उमेरको सिमा निर्धारण, तथा सेवनस्थल तोक्ने जस्ता उपाय अपनाइएका छन्। “आम नागरिक स्वयं जिम्मेवार भएर सुर्तीजन्य पदार्थ नियन्त्रणमा टेवा पुर्याउन सक्छन्,” खनालले भन्नुभयो।
स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले सुर्तीजन्य पदार्थले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने बताउनुभयो। प्लास्टिकमा हुने पहुँचयुक्त सुर्तीजन्य पदार्थ बिक्री वितरण पूर्ण रूपमा निषेध गरिएको जानकारी गराउँदै उहाँले गर्भवती महिला र १८ वर्षमुनिका बालबालिकालाई बिक्री गर्न नपाइने कानुनी व्यवस्था रहेको उल्लेख गर्नुभयो।
पन्चनगर स्वास्थ्य चौकीका प्रमुख बाबुराम तिमिल्सिनाले सुर्तीजन्य पदार्थ सेवनले क्यान्सर, तालु खुइलिने, मोतियाबिन्दु, दम बढ्ने, हड्डी खिइने, पेटको अल्सर, तथा मुटु सम्बन्धी रोग लाग्ने जोखिम रहेको जानकारी गराउनुभयो।
कार्यक्रममा स्वास्थ्य शाखाका अधिकृत कृष्ण हरि पौडेलले बिपन्न परिवारका लागि संघीय सरकारले १ लाख र प्रदेश सरकारले २ लाख रुपैयाँ उपचार सहयोग प्रदान गर्ने व्यवस्था रहेको जानकारी दिनुभयो।
पन्चनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समूहको कार्यसमिति र विद्यार्थीहरूलाई लक्षित गरी गरिएको कार्यक्रममा सुर्तीजन्य पदार्थबाट हुने असरका बारेमा जानकारी प्राप्त गरिएको पञ्चनगर खानेपानीका व्यवस्थापक नारायण गिरीले उल्लेख गर्नु भयो। बर्दघाट नगरपालिकासँग सुर्तीजन्य पदार्थको विक्रि वितरण तथा नियन्त्रणमा थप कडाइका साथ लाग्नु पर्ने आवश्यकता रहेको सहभागि हरुको भनाइ छ । कार्यक्रम बर्दघाट ९ मा रहेको भुपू सैनिकको सभाहलमा सम्पन्न भएको हो।