पोर्चुगलमा ‘मोन्तिजो कप’ फुटबल प्रतियोगिता हुँदै

प्रकाशित मिति:

भरत प्रधान
लिस्बन, ३ वैशाख । मोन्तिजो नेपाली समाज पोर्चुगलले प्रथम ‘मोन्तिजो कप’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर समाजले यही अप्रिल २० तारिखका दिन प्रथम मोन्तिजो कप सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो । खेलकुदको माध्यमबाट नेपाली समुदायका बीचमा आपसी सहयोग, सहकार्य र भाइचारा अभिवृद्धि गर्ने तथा नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरुप प्रतियोगिताको आयोजना गरिएको समाजका अध्यक्ष प्रवल भट्टराईले जानकारी दिनुभयो ।

प्रतियोगितामा पोर्चुगलमा क्रियाशील नेपाली संघसंस्था र क्लबका गरि १६ टिमको सहभागिता रहने भट्टराईले बताउनुभयो। प्रतियोगिताबाट बचत भएको रकमले पोर्चुगलमा समस्यामा परेका नेपालीलाई सहयोग गर्ने संस्थाको योजना रहेको उहाँले बताउनुभयो । प्रतियोगिताको विजेताले तीन हजार पाँच सय युरो नगद, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले दुई हजार युरो नगद कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकीपर, उत्कृष्ट डीफेन्डर र सर्वाधिक गोलकर्तालाई कप तथा प्रमाणपत्रले पुरस्कृत गरिने समाजले जनाएको छ ।

प्रतियोगितामा सहभागिता जनाउनका लागि पोर्चुगलस्थित नेपाली संघसंस्था, क्लबका साथै खेलप्रेमीहरुलाई समाजले विशेष आग्रह समेत गरेको छ । खेल मोन्तिजोस्थित नगरपालिकाको खेल मैदानमा हुने समाजले जनाएको छ । सन् २०२३ मा स्थापना भएको संस्थाले स्थापनाकाल देखि नै विभिन्न खालका सामाजिक एवं रचनात्मक गतिविधीहरु गर्दै आएको छ ।