६ बैशाख, कपिलबस्तु । बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले सामुदायिक वनहरू बाणगंगा नगरपालिकाको समृद्धिका प्रमुख आधार भएको बताउनुभएको छ।
शनिबार बाणगंगा नगरपालिका वडा नं ८ स्थित मोर्मी त्रिशक्ति सामुदायिक वन उपभोक्ता समूहको २१औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।
नगर प्रमुख अर्यालले बाणगंगा नगरपालिकाभित्र ३६ वटा सामुदायिक वनहरू रहेको जानकारी दिँदै ती वनहरूको पैदावारबाट प्राप्त आम्दानीले वन व्यवस्थापन, महिला सशक्तिकरण, उद्यमशिलता, शिक्षा, स्वास्थ्य, खानेपानी तथा पूर्वाधार विकासजस्ता महत्वपूर्ण क्षेत्रमा टेवा पु९याएको बताउनुभयो।
सोही अवसरमा नगर उप–प्रमुख रिता कुमारी थारु, वरिष्ठ वन अधिकृत एजाज अहमद अन्सारी, वडा अध्यक्ष बाबुराम अर्याललगायतले शुभकामना मन्तव्य दिँदै सामुदायिक वनको संरक्षण गर्नु सबै नगरवासीको साझा दायित्व रहेको उल्लेख गर्नुभयो।
कार्यक्रम त्रिशक्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नाथुराम थारुको अध्यक्षता, उपाध्यक्ष ज्वारीलाल घिमिरेको स्वागत मन्तव्य तथा सचिव भगवती बेलबासे पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।