स्याङ्जाको समृद्धिमा अकला आवाजको बहस

प्रकाशित मिति:

अकला आवाज राष्ट्रिय साप्ताहिकले स्याङ्जाको वालिङमा स्याङ्जाको समग्र विकास, समृद्धि र सुशासनमा मिडियाको भूमिका विषयक अन्तरक्रिया एवम् वार्षिक क्यालेन्डर लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ सो अवसरमा स्याङ्जा जिल्लामा क्रियाशील ३ जना अग्रज पत्रकारहरूलाई सम्मान गरेको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देल, प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले र पत्रकार महासंघ स्याङ्जाका सचिव हरिप्रसाद सुवेदी ९शुशील० लाई सम्मान गरिएको हो ।

अन्तरक्रिया एवम् वार्षिक क्यालेन्डर लोकार्पण कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवम् अर्थ तथा विकास समिति सभापति भोजराज अर्याल, गण्डकी प्रदेश सभाका पूर्व सदस्य मोहन रेग्मी, वालिङ नगर प्रमुख कृष्ण खाँण, उपप्रमुख कविता गैह्रे, राष्ट्रिय जनमोर्चा स्याङ्जाका अध्यक्ष राजेन्द्र गैह्रे, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, वालिङ चेम्बर अफ कमर्शका अध्यक्ष प्रकाश न्यौपाने , पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदिप कोइराला ,जिल्लामा क्रियाशील पत्रकारहरू र वालिङका बौद्धिक व्यक्तिहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

अकला आवाज साप्ताहिकका प्रधान सम्पादक प्रकाश डुम्रेले २०६४ देखि पूर्वाधार विकासका सन्दर्भमा अन्य छिमेकी जिल्लाको तुलनामा स्याङ्जा पछाडि परेको हुँदा नागरिक समाज, जनप्रतिनिधि, पत्रकार, जनता र बौद्धिक व्यक्तित्वको आवाज एउटै बनाउन अन्तरक्रिया कार्यक्रम गरिएको बताउनुभयो। अन्तरक्रियामा बोल्ने वक्ताहरूले सिद्धार्थ राजमार्गको स्तरोन्नति, कालिगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग र स्याङ्जाको कनेक्टीभिटी, शिक्षा,स्वास्थ्य लगायतका पूर्वाधारको गुणस्तरीय विकास भए मात्रै स्याङ्जाको प्राकृतिक, कृषि र पर्यटकीय सम्भावनाको सदुपयोग गरी समृद्धि हासिल गर्न सकिने बताएका थिए ।