दुई वर्षभित्र बर्दघाटलाई ‘एक घर, एक धारा’ नगर घोषणा गर्ने तयारी : नगरप्रमुख श्रेष्ठ

प्रकाशित मिति:
प्रकाश न्यौपाने
 बैशाख ९ गते
बर्दघाट नगरलाई आगामी २ वर्षभित्र ‘एक घर, एक धारा’ घोषणा गर्ने गरी नगर सरकार अगाडि बढेको बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।बर्दघाट प्रेस क्लबको आयोजनामा हालै सम्पन्न दुई दिवसीय “एक घर, एक धारा” अभियानसम्बन्धी संवाद गोष्ठीमा बोल्दै नगरप्रमुख श्रेष्ठले अहिले नगरका करिब ७० प्रतिशत घरमा खानेपानीका धारा जडान भइसकेको जानकारी दिनु भयो ।


 बाँकी घरहरुमा पनि आगामी दुई वर्षभित्र धारा जडान गरिसक्ने गरी योजना बनाईएको र त्यसअनुसार नगरभित्रका सबै खानेपानी संस्थाहरुलाई आवश्यक निर्देशन दिइएको उहाको भनाइ थियो। नगर भित्रका १२ वटा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव तथा व्यवस्थापक, नगरका फोकल पर्सन, उपभोक्ता महासंघका जिल्ला अध्यक्ष, सरोकारवाला कार्यालयका प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता रहेको उक्त गोष्ठी बैशाख ७ र ८ गते बर्दघाट खानेपानी संस्थाको सभाहलमा सम्पन्न भएको थियो।


कार्यक्रममा नगरप्रमुख श्रेष्ठले खानेपानी संस्थाहरुलाई पाइप विस्तारका लागि आवश्यक परे नगर सरकारसँग सम्पर्क गरी असार महिनासम्म लागत अनुमान पेश गर्न आग्रह गर्नु भयो । नगरले हालसम्म ६० देखि ७० लाख रुपैयाँ खानेपानी क्षेत्रमा लगानी गरिसकेको जानकारी दिँदै आउँदो बजेटमा ९ वटा संस्थाका लागि प्रदेश सरकारसँग विशेष बजेटको माग गरिएको श्रेष्ठको भनाइ छ ।


नगर सरकार खानेपानी संस्थाहरुको सञ्चालन र व्यवस्थापनका लागि कार्यविधि निर्माण गरेर तीन तीन महिनामा नियमित बैठक गरिरहेको जानकारी पनि नगरप्रमुख श्रेष्ठले दिनु भयो ।


कार्यक्रम बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल (कृष्ण)को अध्यक्षता र नगरप्रमुख श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल लगायतको उपस्थिति थियो। गोष्ठीमा लुम्बिनी प्रदेशका खानेपानी सुरक्षा योजना विज्ञ खिमलाल पाण्डेले भण्डारण, वितरण र सुरक्षाका विषयमा सहजीकरण गर्नु भएको थियो । त्यस्तै, शून्य फोहोर अभियानबारे खानेपानी तथा सरसफाई कार्यालय, रुपन्देहीका सरसफाई विज्ञ ईश्वरीप्रसाद आचार्यले सहजीकरण गर्नु भएको थियो ।