बुटवल, ६ साउन । भैरव एफसी नवलपरासी रुपन्देहीको कोटिहवामा जारी १८ औं लिस्नुकप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । पशुपति माविको मैदानमा आइतबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा भैरवले रुपन्देहीको झरना स्पोर्टस् क्लब कुन्जलापुरलाई ट्राइब्रेकरमा पाखा लगाएको हो । निर्धारित र अतिरिक्त समयमा दुबै टिमले गोल गर्न नसकेपछि नतिजाका लागि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा भैरवका शोरम सारु मगर,आशा गुरुङ,अनुप गुरुङ र आशिष गुरुङको प्रहार सफल भयो । झरनाका निखिल थापाको प्रहार मात्रै सफल हुंदा विवेक पुन र राकेश पुनको प्रहारलाई भैरवका गोलरक्षकले असफल तुल्याइदिए । सोमबार दाङ नयांबजार घोराही र नवयुवा खेलकुद तथा सांस्कृतिक परिवार ठुटिपिललबीच खेल हुने क्लबका सचिव मनोज क्षेत्रीले जानकारी दिए । साउन २१ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतको मुम्बईस्थित फुटबल क्लब दादर ११,पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल सहित रुपन्देही,नवलपरासी,दाङ,स्याङजा र चितवनका गरी १६ टिमले प्रतिस्पर्धा गर्दैछन् । क्लबका अध्यक्ष तिर्थबहादुर मल्ल (तारा) ले जानकारी दिए । प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।