परीक्षा सुरु हुनुअघि नै फेसबुकमा प्रश्नपत्र पोस्ट भएपछि विज्ञानको परीक्षा रद्द गर्न सिफारिस

प्रकाशित मिति:

राजविराज– सप्तरीमा सञ्चालित एसइई अन्तर्गत आज भएको विज्ञान विषयको परिक्षा रद्द गर्न परीक्षा समन्वय समितिले सिफारिस गरेको छ।  परीक्षा सुरु हुनुपूर्व नै प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि परीक्षा रद्द गर्न सिफारिस गरिएको सप्तरीका सिडिओ तथा परीक्षा समन्वय समितिका संयोजक सुरेन्द्र पौडेलले बताए। परीक्षा सुरु हुने समय बिहान ८ बजेका लागि निर्धारण गरिए पनि ७ बजेर ४७ मिनेटमै प्रश्नपत्र बाहिरिएको थियो।

प्रश्नपत्र समाजिक सञ्जाल ‘फेसबुक’मा समेत पोस्ट भएको छ। परीक्षा सुरु हुनुपुर्व नै प्रश्न बाहिरिएको पुष्टि गर्दै सप्तरीका सिडिओ तथा परीक्षा समन्वय समितिका संयोजक पौडेलले त्यस विषयमा अनुसन्धान भइरहेको बताए।

यसअघि बुधवार साँझ पनि विज्ञान विषयको प्रश्न आउट भएको हल्ला चलेको थियो। विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रश्न पत्र पोस्ट भएका थिए। तर, साँझ आउट भएको भनिएको प्रश्नपत्र नक्कली भएको सिडिओ पौडेलको दाबी छ।  अर्कोतर्फ केन्द्राध्यक्ष, निरीक्षक र कर्मचारीसमेत परीक्षा अमर्यादित बनाउन लागिपरेको पाइएपछि बुधवार मात्रै बनरझुलाका केन्द्राध्यक्ष रामअवतार गुप्ता, सहायक केन्द्राध्यक्ष र निरीक्षकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।