बुटवल-प्रदेश नम्बर पाँचको मंगलबार बसेको प्रदेशसभाको बैठकले दुई वटा विधेयक पारित गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सभामा पेश गरेको प्रदेश नम्बर ५ सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसीले पेश गरेको पेस गरेको प्रदेश नम्बर ५ प्रसारण सम्बन्धमा व्यवस्था गर्न विधेयक प्रतिवेदन सहित पारित भएको हो ।
प्रशारण विधेयक प्रेस स्वतन्त्रता कुण्ठित गर्ने खालको आएको भन्दै पत्रकारहरुले संशोधन गर्न माग गरेका थिए । दुई विधेयक सभामा सभामुखले निणर्याथ प्रस्तुत गरेका थिए । पारित विधेयकमाथि छलफल गर्ने कार्यसूची रहे पनि प्रदेशसभा सदस्यहरूले छलफलमा सहभागिता जनाएनन् । मंगलबारको बैठमा विशेष समयमा बोल्दै सांसदहरूले कर्मचारीहरूको समायोजनाका नाममा चिकित्सवहरूले गरेको बन्द हडताल रोकी विरामीको सहज उपचार सेवा लिने पाउने व्यवस्थाको पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले डाक्टरहरूको बन्द हडतालले बिरामी मर्कामा परेको भन्दै वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरे । ‘डाक्टरहरूले उपचारलाई नैं प्रभावित हुने गरी हडताल गर्न पाइदैन ।
यो अत्यावश्यक क्षेत्रमा बन्द हडताल गर्न नपाइने ऐन विपरित छ । डक्टरको विरामीलाई समस्यामा पार्न पाइदैन । सरकारको यसप्रति ध्यान पुगोस ।’ त्यस्तै अर्का सांसद अमरबहादुर डाँगीले भूमि व्यवस्था आयोग गठन गरी भूमिसम्बन्धी समस्याको समाधान गर्न माग गरे । उनले भने, ‘२०१८÷१९ तिर विर्ता उन्मूलन भएको घोषणा गरियो । तर जग्गा दलालहरूको कारण अझै पनि दाङमा भूमि सम्बन्धी समस्या धेरै छ । आयोग गठन गरी जग्गाको समस्या समाधान गरिनुपर्छ ।’ त्यस्तै अर्का सांसद मोहम्मद याकुव अन्सारीले नेपालको जडिबुटी निकासी रोकिएको भन्दै निकासीको व्यवस्थाको पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।