सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न सकेन

प्रकाशित मिति:

पुनहिर बेल्बासे,भैरहवा ,पछिल्लो समय अभिभावकले अंग्रेजी शिक्षाको लागि आफ्ना बालबालिका सामुदायिक विद्यालयमा नपढाएर निजि विद्यालयहरुमा पढाउने लहर चलिरहेको छ । निजि विद्यालयमा प्रवेश परीक्षा गराएर विद्यार्थी लिने गरिएको पनि छ ।

तर रुपन्देहीको बुटवलमा रहेको एक सामुदायिक विद्यालय र मणिग्राममा रहेको विद्यालयले भने विद्यालयको क्षमता भन्दा बढी विद्यार्थी आएर भर्ना गर्न सकस भएको छ । रुपन्देहीको पुरानो बिद्यालय कालिका माध्यमिक विद्यालय र शान्ति नमुना मा.वि. मा विद्यालयको क्षमता भन्दा बढी विद्यार्थी भएपछि छनौट गर्न समस्या भएको हो ।कालिका माविमा बिद्यार्थी धेरै भएपछी र ठाउँ अभावका कारण गत बर्ष बुटवलको रामनगर स्थित मानव ज्ञान बिद्यालयसंग एकिकरण गरेको थियो । जसले गर्दा मानव ज्ञानको भवनमा केही बिद्यार्थीका लागि सिट खाली छ । त्यस्तै कालिकाको पुरानो भवनलाई हटाएर नयाँ भवन बनाइएको छ ।

त्यहाँ पनि केही नयाँ बिद्यार्थीलाई राख्न सकिने अवस्था छ । दुई स्थानमा गरी यस वर्ष जम्मा ६ सय ६७ नयाँ बिद्यार्थीका ठाउँ खाली छ । ६ सय ६७ सिटका लागि शुक्रबार भएको छनौट परीक्षामा ३ हजार ५ सय ८१ जना बिद्यार्थी सहभागि भएको कालिका मानव ज्ञान माध्यमिक बिद्यालयका प्राचार्य घनश्याम पाठकले जानकारी दिनुभयो । आज साँझ सम्ममा रिजल्ट निकाल्ने तयारीमा रहेको प्राचार्य पाठकले बताउनुभयो । नेपालमा नै सामुदायिक बिद्यालयमा सबैभन्दा धेरै बिद्यार्थी अध्ययनरत यस बिद्यालयमा अहिले ५ हजार ५ सय २९ जना विद्यार्थी अध्ययनरत छन् ।त्यस्तै रुपन्देहीकै मणिग्राममा रहेको शान्ति नमुना माविमा पनि विद्यालयको चाँप उस्तै छ । ५ सय १५ जना सम्मको विद्यार्थी राख्ने क्षमता भएको ठाउँमा ७ सय ७५ जना विद्यार्थीको आवेदन परेको विद्यालयका प्राचार्य कुल प्रसाद लामिछानेले जानकारी दिनुभयो । शान्ति माविले भोली आइतबार साँझ सम्मा नतिजा निकाल्ने तयारीमा छ । हाल शान्ति माविमा २ हजार ४ सय ५० जना विद्यार्थी अहिले अध्ययनरत छन् । यस विद्यालयमा कक्षा नर्सरी देखि कक्षा १२ सम्म पढाइ हुने गर्दछ ।