तिलोत्तमामा सुरु भयो वृक्षरोपण सप्ताह

प्रकाशित मिति:

रुपन्देहीको तिलोत्तमा नगरपालिमा शनिबारबाट वृक्षरोपण सप्ताह सुरु भएको छ । ‘ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ नाराका साथ नगरपालिकाले भदौ १ गतेसम्म चल्नेगरी हरियाली प्रवद्र्धन गर्न वृक्षरोपण सप्ताह आयोजना गरेको हो ।

सप्ताहअन्तर्गत् नगरमा विभिन्न प्रजातिका फलफुल तथा वनस्पतिका ५० हजार विरुवाहरु रोपिने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । विभिन्न संघ—संस्था, क्लव, टोल विकास संस्थालगायत समग्र नगरबासीसँगको सहकार्यमा वृक्षरोपण हुने नगरपालिकाले जनाएको छ । जिल्ला वन कार्यालय तथा सामुदायिक वनमार्फत् प्राप्त वनस्पतिका ३० हजार तथा नगरपालिकाले खरिद गरेका फलफूलका २० हजार विरुवा रोपिने कार्यक्रम रहेको नगर प्रमुख घिमिरेले बताउनुभयो ।

नगर प्रमुख घिमिरेले नगरपालिकाले उपलब्ध गराएका विरुवाहरु रोपी त्यसबाट लाभ लिन तथा हरियाली प्रवद्र्धन कार्यक्रममा सहभागी हुन सबै नगरबासीलाई आग्रह गर्नुभयो । नगरपालिकाले वनस्पतिका विरुवा निःशुल्क र फलफूलका विरुवालाई न्यूनतम मूल्यमा टोल विकास संस्थामार्फत् नगरबासीलाई उपलब्ध गराइने जनाएको छ ।

नगर उप—प्रमुख जागेश्वरी चौधरीले वडा कार्यालयमा सम्पर्क राखि आ–आफ्नो घर–आँगन, खाली जमिन तथा उपयुक्त स्थानमा विभिन्न प्रजातिका फलफुल तथा वनस्पतिका विरुवाहरु रोप्न नगरबासीलाई आह्वान गर्नुभयो । यस्तै वृक्षरोपण सप्ताहका संयोजक दानबहादुर चौधरीले रोपिएका विरुवालाई हुर्काइ त्यसबाट लाभ लिन सबैलाई आग्रह गर्नुभयो । सप्ताह अन्र्तगत् आँप, अम्बा, अनार, कागती, लिची, कटहर, अमला, जामुन, सुपारी, टिक, बकाईनो, खयरलगायत विभिन्न प्रजातिका विरुवाहरु रोपिनेछ ।

यसैबीच तिलोत्तमा–४, स्थित प्रस्तावित बालउद्यान क्षेत्रमा शनिबार आयोजित एक कार्यक्रमबीच विरुवा रोपी नगर प्रमुख बासुदेव घिमिरेले वृक्षरोपण सप्ताह सुभारम्भ गर्नुभएको छ । त्यसअवसरमा उप—प्रमुख जागेश्वरी चौधरी, नगरकार्यपालिका तथा नगरसभा सदस्य, कर्मचारीहरु, विभिन्न संघ—संस्थाका प्रमुख तथा प्रतिनिधिहरुका साथै स्थानीय बासिन्दाले विरुवा रोपेका छन् । वडा नं। ४ का वडाध्यक्ष दिवाकर ढकालले शनिबार वृक्षरोपण सप्ताहको सुभारम्भ मात्र गरिएको बताउँदै प्रस्तावित बालउद्यान क्षेत्रमा व्यवस्थित तरिकाले थप विरुवाहरु रोपिने बताउनुभयो । कार्यक्रमको संयोजन वडा नं। ३ र ४ ले संयुक्त रुपमा गरेका थिए । वर्षाका बीच सहभागीहरु वृक्षरोपणमा सहभागी भए ।